ओली र लेखक हाजिरी जमानीमा रिहा, परिवारको जिम्मा लगाइयो
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक थुनामुक्त भएका छन् । ‘जेन्जी आन्दोलन’ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका दुवै नेतालाई बिहीबार (चैत २६) बिहान परिवारको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत ओलीलाई अस्पतालबाटै हाजिरी जमानीमा छाडिएको छ । यस्तै, महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणको नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री लेखकलाई पनि सोही प्रक्रियाअनुसार परिवारको जिम्मा लगाइएको छ ।
सर्वोच्च अदालतले उनीहरूलाई थप म्याद थप नगर्न र अनुसन्धानका लागि आवश्यक परेको बेला उपस्थित हुने शर्तमा २६ गतेभित्र रिहा गर्न परमादेश जारी गरेको थियो । सोही आदेशको कार्यान्वयन गर्दै सरकारी वकिलको कार्यालयसँगको सहमतिमा उनीहरूलाई हाजिरी जमानीमा मुक्त गरिएको प्रहरीले जनाएको छ ।
गत चैत १४ गते पक्राउ परेका उनीहरूमाथि २०८२ भदौमा भएको आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको विषयमा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो ।













