अमेरिका-इरान शान्ति वार्ताका लागि इस्लामावादमा ‘रेड अलर्ट’: १० हजार सुरक्षाकर्मीको पहरामा सुरु हुँदैछ संवाद
काठमाडौं । लामो समयदेखिको तनाव र सैन्य टकरावपछि विश्व राजनीतिमा निकै महत्त्वका साथ हेरिएको अमेरिका र इरानबीचको शान्ति वार्ता आज (शुक्रबार) देखि पाकिस्तानको राजधानी इस्लामावादमा सुरु हुँदैछ।
मध्यपूर्वमा बढ्दो युद्धको खतरालाई टार्ने उद्देश्यले आयोजना गरिएको यो वार्ता सफल बनाउन दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरू इस्लामावाद आइपुगेका छन्।
वार्ताको पहिलो चरण आज (अप्रिल १०) स्थानीय समय अनुसार बिहानैदेखि सुरु हुने तालिका छ। मुख्य छलफलका लागि इस्लामावादको ‘रेड जोन’ मा अवस्थित पाँचतारे होटल ‘सेरेना’ लाई तोकिएको छ, जसलाई सरकारले पूर्ण रूपमा नियन्त्रणमा लिएर उच्च सुरक्षा क्षेत्र घोषणा गरेको छ। यो वार्ता दुई हप्ताका लागि घोषणा गरिएको अस्थायी युद्धविरामको पृष्ठभूमिमा हुन लागेको हो, जुन अप्रिल २२ मा समाप्त हुँदैछ।
वार्तामा दुवै पक्षबाट शक्तिशाली र निर्णायक टोलीहरू सहभागी छन् । अमेरिकी टोलीको नेतृत्व उप-राष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उनीसँगै राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ, सल्लाहकार जेरेड कुश्नर र सेन्ट्रल कमान्डका कमान्डर एडमिरल ब्राड कुपर पनि वार्तामा सहभागी हुनेछन्।
इरानको तर्फबाट इरानी टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघची ले गरेका छन्। टोलीमा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र उप-विदेशमन्त्री मजिद तख्त-रवान्ची जस्ता प्रभावशाली नेताहरू सहभागी हुनेछन्।
यो ऐतिहासिक वार्तालाई सफल बनाउन पाकिस्तानले आयोजक र मध्यस्थकर्ताको रूपमा ठूलो तयारी गरेको छ। प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख जनरल असिम मुनिर आफैँले यसको समन्वय गरिरहेका छन्।
अमेरिका र इरानबीच हुन गइरहेको ऐतिहासिक शान्ति वार्ताको सुरक्षालाई मध्यनजर गर्दै पाकिस्तानकाे संघीय राजधानी इस्लामावादमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
विदेशी प्रतिनिधिहरूको उच्च सुरक्षा सुनिश्चित गर्न १० हजारभन्दा बढी प्रहरी र सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। संवेदनशील मानिएको ‘रेड जोन’ मा जाने मार्गल्ला सडक बाहेकका अन्य सबै प्रवेश मार्गहरू बन्द गरिएका छन् भने शहरभरि ‘रेड अलर्ट’ जारी गरिएको छ।
यसपटकको सुरक्षा व्यवस्था बहुस्तरीय रहेको छ, जसको प्रत्यक्ष कमान्ड सेनाले सम्हालेको छ। यस कार्यमा अर्धसैनिक बल (रेन्जर्स), इस्लामावाद र पञ्जाब प्रहरीका साथै फ्रन्टियर कन्स्टेबुलरीका टोलीहरूले सहकार्य गरिरहेका छन्। तथ्याङ्क अनुसार, राजधानी प्रहरीका ६,०००, पञ्जाब कन्स्टेबुलरीका ३,००० र फ्रन्टियर कन्स्टेबुलरीका ९०० जवानहरूका साथै सेना र रेन्जर्सका विशेष टुकडीहरू महत्त्वपूर्ण भवन र पहाडी क्षेत्रहरूमा तैनाथ गरिएका छन्।
विदेशी पाहुनाहरूको सुरक्षाका लागि ‘ब्लु बुक’ प्रोटोकल लागू गरिएको छ। विमानस्थलदेखि बस्ने स्थानसम्मका लागि छुट्टै मार्गहरू तय गरिएका छन्, जहाँ दुवैतर्फ सुरक्षाकर्मीहरूको कडा पहरा रहनेछ। सुरक्षालाई थप चुस्त बनाउन भीभीआईपीसँग खटिने ‘क्लोज प्रोटेक्सन’ टोलीलाई मोबाइल फोन र डिजिटल घडी जस्ता कुनै पनि विद्युतीय ग्याजेटहरू बोक्न प्रतिबन्ध लगाइएको छ। रेड जोन र उच्च सुरक्षा क्षेत्रमा अनधिकृत व्यक्तिको प्रवेशलाई पूर्णतः निषेध गरिएको छ।
सुरक्षा सतर्कताका कारण शहरको ट्राफिक व्यवस्थामा ठूलो हेरफेर गरिएको छ। फैसल एभिन्यू, जिरो पोइन्ट र एक्सप्रेसवेका केही खण्डहरू पूर्ण रूपमा बन्द गरिएका छन्। ट्राफिक प्रहरीले रावलपिन्डी र अन्य क्षेत्रतर्फ जाने सवारी चालकहरूका लागि ९-एभिन्यू, कोराङ रोड र स्टेडियम रोड जस्ता वैकल्पिक मार्गहरू प्रयोग गर्न निर्देशन दिएको छ। प्रशासनले आपतकालीन अवस्थाका लागि दमकल र एम्बुलेन्स सेवालाई पनि हाई-अलर्टमा राखेको छ।













