बालेन क्याबिनेटका मन्त्रीको सम्पती विवरण सार्वजनिक, कस्को कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बालेन क्याबिनेटका मन्त्रीको सम्पती विवरण सार्वजनिक, कस्को कति ?



काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ को प्रावधान अनुसार ’बालेन क्याबिनेटका’ प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहसहित अधिकांश मन्त्रीहरूसँग काठमाडौँ उपत्यका र बाहिरका जिल्लाहरूमा घरजग्गा, ठूलो मात्रामा सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति
सामाजिक सञ्जालबाटै करोडौँ कमाइ प्रधानमन्त्री बालेन्द्र शाहको नाममा काठमाडौँमा ५ आना र धनुषामा १.२ बिघामा फैलिएको घर रहेको छ । त्यसैगरी महोत्तरीमा उनको ९ बिघा जग्गा छ । शाहको सबैभन्दा रोचक पक्ष उनको आम्दानीको स्रोत देखिएको छ । उनले फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आइट्युन्स जस्ता सामाजिक सञ्जालबाट १.४६ करोड रुपैयाँ आम्दानी गरी बैंकमा मौज्दात राखेका छन् । शाहको परिवारसँग १४० तोला पैतृक सुन रहेको छ ।

मन्त्रीहरूको सम्पत्ति कसको अवस्था कस्तो ?
क्याबिनेटका अन्य प्रभावशाली मन्त्रीहरूको सम्पत्ति पनि निकै लोभलाग्दो देखिएको छ । विवरण अनुसार
डा. स्वर्णिम वाग्ले वाग्लेको ललितपुर र भक्तपुरमा दुईवटा अपार्टमेन्ट र तनहुँमा घर रहेको छ । जसको खरिद मूल्य नै करोडौँ उल्लेख छ । उनीसँग ७५ तोला सुन र विभिन्न बैंकमा १ करोड ९० लाख रुपैयाँ मौज्दात छ । उनले ८४ लाख मूल्यको सुबारु कार चढ्ने गरेका छन् ।

सस्मित पोखरेल (शिक्षा मन्त्री)को काठमाडौँमा ४ करोड र ५ करोड अनुमानित मूल्य बराबरका दुईवटा घरहरू रहेका छन् । उनको परिवारको नाममा काठमाडौँ, मोरङ र ललितपुरमा गरी करोडौँ मूल्यका विभिन्न ५ ठाउँमा जग्गा रहेको विवरणमा उल्लेख छ ।

सोविता गौतम (कानुन मन्त्री)को काठमाडौँ र चितवनमा घर रहेको छ । उनले ९५ लाख र २६ लाख मूल्यका दुईवटा कारहरू प्रयोग गर्ने गरेकी छिन् । उनको विभिन्न बैंक खातामा १ करोड भन्दा बढी बचत रहेको देखिन्छ ।

विराज भक्त श्रेष्ठसँग काठमाडौँमा दुईवटा घर र विभिन्न कम्पनीमा २१ हजार कित्ता भन्दा बढी शेयर लगानी छ । जसको बजार मूल्य १ करोड ६५ लाख भन्दा बढी हुन्छ । उनले १९ लाखको विद्युतीय सवारी र ६.५ लाखको ल्यान्ड क्रुजर प्रयोग गर्छन् ।

गृह मन्त्री सुधन गुरुङसँग गोरखामा २२१ रोपनी र चितवनमा ३० कट्ठा पैतृक जग्गा रहेको छ भने ८९ तोला सुन रहेको छ । स्वास्थ्य मन्त्री निशा मेहताको बैंक खातामा १.५ करोड भन्दा बढी मौज्दात देखिएको छ । पर्यटन मन्त्री खडक राज पौडेलको २.६ करोडको घर र २ करोड लगानीको फार्म हाउस रहेको छ । सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको बैंकमा १ करोड भन्दा बढी मौज्दात छ ।

सबै मन्त्रीहरूले आफ्नो सम्पत्तिको मुख्य स्रोतमा पैतृक सम्पत्ति, पारिश्रमिक, व्यवसाय र लगानीलाई उल्लेख गरेका छन् । यो विवरण सार्वजनिक हुनुले सरकारी संयन्त्रमा पारदर्शिता कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

हेर्नुहोस् विस्तृतमा विवरण


प्रतिक्रिया दिनुहोस्