स्ट्रेट अफ हर्मुजमा अमेरिकी नाकाबन्दी: तेलको मूल्य १०३ डलर नाघ्यो, नेपाली भान्सामा महँगीको मार
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नौसैनिक नाकाबन्दी गर्ने घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। आइतबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल १०३ डलर नाघेको छ।
त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि ७.८६ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल १०४.१६ डलर पुगेकाे छ।
गत मंगलबार तेलको मूल्य १११ डलर प्रति ब्यारेल पुगेको थियो। त्यसयता ओरालो लागेको मूल्य पुनः बढेकाे छ।
साताको अन्त्यमा अमेरिकी र इरानी अधिकारीहरूबीच भएको युद्धविराम वार्ता असफल भएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी नौसेनाले हर्मुज जलडमरूमार्फत हुने सबै जहाजको आवतजावत रोक्ने घोषणा गरेका छन्।
यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले पछि एक विज्ञप्ति जारी गर्दै ट्रम्पको पूर्ण नाकाबन्दीको धम्कीलाई केही मत्थर पारेको छ। कमान्डका अनुसार नाकाबन्दी इरान आउने र जाने जहाजहरूमा मात्र केन्द्रित हुनेछ र अन्य देशका जहाजको आवागमनमा कुनै अवरोध गरिने छैन। यो नाकाबन्दी सोमबार पूर्वी समयअनुसार बिहान १० बजेबाट लागू हुने जानकारी दिइएको छ।
विश्वको कुल तेल र प्राकृतिक ग्यास आपूर्तिको करिब पाँच भागको एक भाग ओगट्ने हर्मुज जलडमरूमा तनाव सुरु भएदेखि तेलको मूल्यमा उतारचढाव आइरहेको छ। गत महिना प्रति ब्यारेल ११९ डलर पुगेको ब्रेन्ट क्रुडको मूल्य, छ हप्ता लामो युद्धपछि दुई हप्ताको युद्धविराम घोषणा हुँदा गत हप्ता ९२ डलरमा झरेको थियो।
महँगीकाे मारमा नेपालमा
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०३ डलर नाघेसँगै नेपालमा पनि इन्धनको मूल्य थप बढ्ने निश्चित देखिएको छ।
युद्ध सुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ। हाल नेपालमा पेट्रोलको मूल्य प्रति लिटर २१९ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर २०७ रुपैयाँ, खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर २०१० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) प्रति लिटर २५७ रुपैयाँ पुगिसकेको छ।
हर्मुज जलडमरूमा अमेरिकी नाकाबन्दी र आपूर्तिमा आएको अवरोधका कारण नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त गर्ने नयाँ मूल्यसूची अझ बढेर आउने देखिन्छ।
इन्धनको मूल्यमा हुने यो सम्भावित वृद्धिले नेपालको समग्र अर्थतन्त्र र सर्वसाधारणको भान्सामा प्रत्यक्ष असर पारेकाे छ। ढुवानी भाडा बढ्दा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको मूल्य अकासिएकाे छ भने हवाई इन्धनको मूल्य वृद्धले आन्तरिक उडान समेत महँगो हुने स्थिति सिर्जना भएको छ।
अन्तर्राष्ट्रिय स्तरमा देखिएको यो भू-राजनीतिक तनाव तत्काल समाधान नभएमा नेपालमा मूल्य वृद्धिले ऐतिहासिक रेकर्ड कायम गर्न सक्ने अनुमान गरिएको छ।













