भिभो स्मार्टफाेन बेच्ने एपेक्स मनोकामनाकाे व्यापार २२ प्रतिशतले बढ्याे, एक वर्षमै २ अर्ब ७१ करोडको कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भिभो स्मार्टफाेन बेच्ने एपेक्स मनोकामनाकाे व्यापार २२ प्रतिशतले बढ्याे, एक वर्षमै २ अर्ब ७१ करोडको कारोबार



काठमाडौँ । भिभो ब्रान्डको स्मार्टफोन र एक्सेसरिजकाे आधिकारिक वितरक एपेक्स मनोकामना प्रालीले पछिल्ला तीन वर्षमा आफ्नो व्यापारमा निरन्तर वृद्धि गरेको छ । पछिल्लाे एक वर्षमा कम्पनीकाे व्यापार २२.६ प्रतिशतले बढेकाे छ।

आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले २ अर्ब ७१ करोड रुपैयाँ बराबरकाे व्यापार गरेकाे छ। अघिल्लो वर्ष २०२३/२४ मा कम्पनीमले १ अर्ब ६८ करोड ९० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे थियाे ।

यसअघि आर्थिक वर्ष २०२२/२३ मा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड २० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्ष २०२६ काे पहिलाे ६ महिनामा कम्पनीले १ अर्ब ५२ करोड ७० लाख रुपैयाँ बराबरकाे भिभो स्मार्टफोन तथा एक्सेसरिजहरू बेचेकाे छ। मुख्यतया मोबाइल ह्यान्डसेटको बिक्रीमा १५ प्रतिशतले आएको बढोत्तरी र नयाँ मोडलहरूप्रति ग्राहकको आकर्षणले व्यापार बढाउन मद्दत गरेको कम्पनीले जनाएकाे छ।

कम्पनीको व्यापार बढे पनि सञ्चालन नाफाको मार्जिन र ऋणको अवस्थामा केही दबाब देखिएको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन पछिल्ला तीन वर्षमा क्रमिक रूपमा घट्दै गएको छ, जुन आर्थिक वर्ष २०२३ मा ६.६५ प्रतिशत रहेकोमा २०२४ मा ४.९८ प्रतिशत र २०२५ मा घटेर ४.५८ प्रतिशतमा खुम्चिएको छ ।

यस्तै, कम्पनीको ओभरअल गेयरिङ अनुपात सन् २०२३ मा ४.५७ गुणा र २०२४ मा ४.२७ गुणा रहेकोमा २०२५ मा बढेर ४.७६ गुणा पुगेको छ, जसले पूँजीको तुलनामा ऋणको भार बढेको संकेत गर्दछ ।

यद्यपि, कम्पनीको चालु अनुपात मा भने सुधार देखिएको छ। अघिल्ला दुई वर्ष १.१९ गुणामा स्थिर रहेको यो अनुपात २०२५ मा बढेर १.४८ गुणा पुगेको छ । त्यस्तै, कुल ऋण र कुल नगद सञ्चितिको अनुपात सन् २०२३ मा ४७.०१ गुणा रहेकोमा सुधार हुँदै २०२४ मा ३४.११ गुणा र २०२५ मा ३१.३१ गुणामा झरेको छ ।

केयर रेटिङ्स नेपालले कम्पनीको कुल १ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको बैंक सुविधाहरूको रेटिङ पुन: पुष्टि गरेको छ । जसअन्तर्गत १५ करोड रुपैयाँको दीर्घकालीन बैंक कर्जाका लागि ‘डबल बी’ रेटिङ कायम गरिएको छ । त्यसैगरी, ९३ करोड ५३ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाहरूका लागि ‘ए फोर’ रेटिङ दिइएको छ ।

यस व्यवसायमा प्रविधिमा आउने छिटो परिवर्तन र भिभो ब्रान्डमा मात्र रहेको उच्च निर्भरता प्रमुख चुनौतीको रूपमा रहेका छन् । साथै, मोबाइल बजारमा रहेको तीव्र प्रतिस्पर्धाले नाफाको मार्जिनमा दबाब सिर्जना गरेको छ भने वैदेशिक मुद्राको उतारचढाव र ब्याजदरको जोखिम पनि कायमै छ ।

आगामी दिनमा कम्पनीले आफ्नो कार्यमूलक पुँजीको प्रभावकारी व्यवस्थापन गर्ने र बिक्री बढाउन विभिन्न साझेदारीहरू मार्फत सजिलो किस्ताबन्दीको योजना ल्याउने लक्ष्य राखेको छ, जसले आगामी वर्षमा पनि व्यापारको लयलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्