मिनी संसद्ले पायो पूर्णता, १२ वटै संसदीय समितिमा नयाँ नेतृत्व चयन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मिनी संसद्ले पायो पूर्णता, १२ वटै संसदीय समितिमा नयाँ नेतृत्व चयन



काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटा संसदीय समितिहरूले अन्तत: नयाँ नेतृत्व पाएको छ ।

शुक्रबार भएको निर्वाचन प्रक्रियासँगै सबै समितिहरूले सभापति पाएपछि ’मिनी संसद्’का रूपमा चिनिने यी समितिहरूले पूर्णता पाएका हुन् ।

शुक्रबार भएको चयन प्रक्रियामा १० वटा समितिमा सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् भने बाँकी दुई वटा समितिमा मतदानमार्फत नेतृत्वको टुङ्गो लागेको छ । यस पटकको सभापति चयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व देखिएको छ ।

रास्वपाबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी सर्वसम्मत चुनिएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, र उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी निर्विरोध निर्वाचित भएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत रूपमा नेतृत्वमा आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध चुनिएका छन् । उनलाई रास्वपाले समेत समर्थन गरेपछि सो पदमा एकल उम्मेदवारी परेको थियो ।

प्रतिस्पर्धा भएका दुई समितिहरूमध्ये राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की निर्वाचित भएका छन् । उनले नेकपाकी मदन कुमारी शाह (गरिमा) लाई पराजित गरेका हुन् ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचनले नेकपा एमालेका गुरुप्रसाद बराललाई हराउँदै विजय हासिल गरिन् ।

यसरी सबै समितिहरूले सभापति पाएसँगै अब संसद्को विधायिकी कार्य र सरकारको अनुगमन गर्ने कामले थप गति लिने अपेक्षा गरिएको छ । सदनमा रास्वपाको बहुमत रहेका समितिहरूमा उसकै उम्मेदवारहरू हाबी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्