९ महिनामा २ खर्ब ७६ अर्बको कर्जा विस्तार: एभरेष्टको फड्को, एनआइसी र स्ट्याण्डर्डको व्यापार गिरावट
काठमाडौं । पछिल्लो ९ महिनामा नेपालका वाणिज्य बैंकहरूले आफ्नो कर्जा लगानीमा उत्साहजनक वृद्धि देखाएका छन् ।
असार २०८१ को तुलनामा चैत २०८१ सम्म आइपुग्दा बैंकहरूको कुल कर्जा लगानी ५ खर्ब २५ अर्ब ९ करोड ४० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकहरूले कुल २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले आफ्नो ऋण पोर्टफोलियो बढाएका हुन् ।
अर्थतन्त्रमा केही सुस्तता देखिए पनि बैंकिङ प्रणालीमा रहेको तरलता र ब्याजदरमा आएको क्रमिक गिरावटका कारण बैंकहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागेको देखिन्छ । असार मसान्तमा ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ रहेको कुल कर्जा चैतसम्म आइपुग्दा ५.५६ प्रतिशतले वृद्धि भएको छ ।
यसले बजारमा बिस्तारै माग बढ्दै गएको र बैंकहरूले साना तथा मझौला व्यवसायदेखि ठूला पूर्वाधारसम्ममा लगानी केन्द्रित गरिरहेको संकेत गर्दछ ।

कर्जा लगानीको दौडमा को अगाडि, को पछाडि ?
बैंकहरूको व्यक्तिगत तथ्याङ्कलाई केलाउँदा ग्लोबल आइएमई बैंक र नबिल बैंकबीचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ । ४ खर्ब ७६ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेर ग्लोबल आइएमई बैंकले आफ्नो पहिलो स्थान सुरक्षित गरेको छ ।
ग्लोबलले ९ महिनामा मात्रै ३५ अर्ब ५४ करोड रुपैयाँ थप लगानी गरेको छ । त्यस्तै, ४ खर्ब ७२ अर्ब ४० करोड रुपैयाँ सहित नबिल बैंक दोस्रो स्थानमा छ । जसले यो अवधिमा ३८ अर्ब ७१ करोड रुपैयाँ बराबरको नयाँ ऋण प्रवाह गरेको छ । यी दुई बैंकले मात्रै कुल बजारको ठूलो हिस्सा ओगटेका छन् ।
तर, सबै बैंकको अवस्था सुखद भने छैन । तथ्याङ्क हेर्दा प्रभु बैंक, एनआइसी एशिया बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाहमा भने गिरावट देखिएको छ । प्रभु बैंकले ४ अर्ब २७ करोड रुपैयाँले व्यापार घटाउँदा एनआइसी एशिया बैंकले १९ अर्ब ३७ करोड रुपैयाँले आफ्नो ऋण पोर्टफोलियो गुमाएको छ ।
सबैभन्दा धेरै गिरावट प्रतिशतका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा देखिएको छ । जसको कर्जा १० अर्ब ४७ करोड रुपैयाँले घटेर ७७ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ ।
कर्जा विस्तारको ’ग्रोथ’मा एभरेष्टको कमाल
प्रतिशतका आधारमा कर्जा विस्तार गर्ने बैंकहरूको सूचीमा एभरेष्ट बैंकले सबैलाई आश्चर्यमा पारेको छ । एभरेष्टले १७.४८ प्रतिशतको लोभलाग्दो वृद्धिदर हासिल गर्दै २ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ कर्जा पुर्याएको छ ।
यो अवधिमा उसले ३९ अर्ब ९ करोड रुपैयाँको नयाँ व्यापार गरेको छ । जुन रकमका आधारमा पनि सबैभन्दा बढी हो । एभरेष्टपछि माछापुच्छ्रे बैंकले १२.८२ प्रतिशतको वृद्धिदर कायम गर्दै आफ्नो उपस्थिति मजबुत बनाएको छ ।
त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ९.७६ प्रतिशतको राम्रो वृद्धि गर्दै ३ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । उता लक्ष्मी सनराइज र नबिल बैंकले पनि ८ प्रतिशत माथिको वृद्धिदर कायम राखेका छन् ।
तर, स्ट्याण्डर्ड चार्टर्ड बैंक भने ११.८४ प्रतिशतको ऋणात्मक वृद्धिदरका कारण दबाबमा देखिएको छ । एनआइसी एशियाको ८.०९ प्रतिशत र प्रभु बैंकको १.७७ प्रतिशतको गिरावटले ती बैंकहरू सम्भवत: जोखिम व्यवस्थापन र खराब कर्जा असुलीमा बढी केन्द्रित भएको अनुमान गर्न सकिन्छ ।
तथ्याङ्कले के देखाउँछ भने ठूला बैंकहरू आफ्नो बजार हिस्सा जोगाउन आक्रामक बन्दा साना र मध्यम स्तरका बैंकहरूले पनि राम्रो प्रतिस्पर्धा गरिरहेका छन् । व्यापार घट्ने र बढ्ने क्रमले आगामी दिनमा बैंकिङ बजारको वरीयतामा ठूलो फेरबदल ल्याउन सक्ने सम्भावना देखाएको छ ।













