अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेट: आर्थिक सुधार र लगानी प्रवर्द्धनमा जोड
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री एसपल कपुरबीच आज अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ।
यस अवसरमा अर्थमन्त्री डा वाग्ले र अमेरिकी सहायक विदेश मन्त्रीबीच हालै सम्पन्न निर्वाचन पछि गठित वर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा गहन छलफल भएको छ।
उक्त छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरे। उनले पुराना अनावश्यक कानूनहरूको खारेजी र नयाँ कानून निर्माणद्धारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे।
अमेरिकी लगानीकर्ता तथा गैर आवासिय नेपाली लगानीकर्ताहरूबाट विशेष गरी पर्यटन, स्वच्छ उर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको समेत सो अवसरमा बताए।
अमेरिकी सहायक विदेश मन्त्री कपुरले नेपाल र अमेरिका बिचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे। हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मकरूपमा नजिकबाट हेरिरहेको समेत बताए।
सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम जस्ता सँस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रहरूले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिए।
उक्त वैठकमा अर्थ सचिव डा। घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदुत स्कट उर्बमसँगै अमेरिकी राजदुतावासका पदाधिकारीहरुको समेत उपस्थति रहेको थियो।













