शक्तिशाली लगानी बोर्ड निरीह देखिनुले गलत सन्देश गयो, अब निर्मम समीक्षा हुन्छ: डा. स्वर्णिम वाग्ले - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शक्तिशाली लगानी बोर्ड निरीह देखिनुले गलत सन्देश गयो, अब निर्मम समीक्षा हुन्छ: डा. स्वर्णिम वाग्ले



काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएका ठुला आयोजनाहरूको प्रगति अत्यन्तै दयनीय रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मङ्गलवार अर्थ मन्त्रालयमा बसेको लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकलाई सम्बोधन गर्दै उनले बोर्डको कार्यक्षमतामाथि प्रश्न उठाएका हुन्।

बैठकमा अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएका ५५ वटा आयोजनामध्ये हालसम्म २ वटा मात्रै निर्माणको चरणमा जानु ‘लाजैमर्दो’ विषय भएको बताए। विदेशी लगानी स्वीकृत भएको लामो समयसम्म पनि काम सुरु नहुनुका पछाडि निर्मम समीक्षा आवश्यक रहेको उनले उल्लेख गरे।

उनले परियोजना अघि बढ्न नसक्नुमा जो दोषी छ, उसैलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्। “आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो? मान्छे भए मान्छे र कानुन भए कानुन नै फेर्नुपर्ने अवस्था आएको छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले लगानी सहजीकरण गर्ने यति ठुलो र शक्तिशाली निकाय निरीह देखिनुले बजारमा गलत सूचना प्रवाह भएको भन्दै अबको १४ औँ बैठकसम्म समस्याको समाधान र ठोस प्रगति नभए सरकार निर्मम भएर उत्रिने चेतावनी दिए। उनले कम्तीमा १० वटा परियोजनामा तत्कालै प्रगति देखिनुपर्ने र केही ‘फेन्सी’ आयोजनाहरूको बारेमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए। समस्या के हो, त्यो तुरुन्तै पहिचान गरी पेश गर्न उनले निर्देशन दिएका छन्।

बैठकमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजनाहरूको हालत चिन्ताजनक देखिएको बताए। उनले विकासका परियोजना अघि बढाउन बाधक रहेका निकाय वा व्यक्तिहरूको अब कडा अनुगमन हुने स्पष्ट पारे। कुन निकाय वा व्यक्तिका कारण समन्वय हुन नसकेको हो, त्यसको पहिचान गरी तत्काल सम्बोधन गर्न उनले माग गरे।

त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बोर्डको काम, कर्तव्य र अधिकारका साथै स्वीकृत आयोजनाहरूको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। उनले बोर्डले गरिरहेको सहजीकरण र यसअघिको १२ औँ बैठकले गरेका निर्णयहरूको कार्यान्वयनका विषयमा समेत स्पष्ट पारेका थिए।


प्रतिक्रिया दिनुहोस्