१३ श्रावण २०८३, बुधबार

बैंकिङ प्रणालीमा अधिक तरलता, १६० दिनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बजारमा थुप्रिएको अतिरिक्त रकम (तरलता) व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरणको प्रयोग गर्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि केन्द्रीय बैंकले आज ४० अर्ब रुपैयाँ खिच्ने प्रक्रिया अघि बढाएको हो। कर्जाको मागमा सोचेअनुरूप विस्तार नभएपछि बैंकहरूले करिब ३ प्रतिशत जस्तो न्यून ब्याजदरमै राष्ट्र बैंकमा पैसा राख्न तयार देखिएका छन्।

वित्तीय स्थायित्व कायम गर्न र ब्याजदरमा हुने उतारचढावलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत बजारबाट पैसा तान्दै आएको छ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।

निक्षेप संकलनका लागि आज अनलाइन प्रणालीमार्फत बोलकबोल आह्वान गरिएको छ, जहाँ ब्याजदरको निर्धारण स्वयं बोलकबोल प्रक्रियाबाटै तय हुनेछ। यस दीर्घकालीन निक्षेप संकलनमा सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्मका लागि प्रस्ताव पेश गर्न सक्नेछन्।

रकम प्रस्ताव गर्दा ५ करोड रुपैयाँले भाग जाने गरी आवेदन दिनुपर्ने सर्त राखिएको छ। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकहरूलाई प्राथमिकतामा राखेर यो रकम बाँडफाँट गर्नेछ। १६० दिनको अवधिका लागि खिच्न लागिएको यो रकमको साँवा र ब्याज भुक्तानी आगामी असोज २१ गते गरिने केन्द्रीय बैंकले जनाएको छ।