इरानसँगको शान्ति वार्ता अन्योलमा: ट्रम्पले रद्द गरे अमेरिकी दूतहरूको पाकिस्तान भ्रमण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इरानसँगको शान्ति वार्ता अन्योलमा: ट्रम्पले रद्द गरे अमेरिकी दूतहरूको पाकिस्तान भ्रमण



काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा मध्यस्थता गरिरहेको पाकिस्तानमा हुने भनिएको आफ्ना दुई दूतको भ्रमण रद्द गरेका छन्।

इरानले प्रस्ताव गरेको पछिल्लो शान्ति योजना पर्याप्त नभएको भन्दै ट्रम्पले स्टिभ विट्कफ र जारेड कुश्नरको भ्रमण रोकेका हुन्।

ट्रम्पले फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै इस्लामावादमा हुने वार्तामा धेरै यात्रा र खर्च हुने तर नतिजा नआउने देखिएकाले यस्तो निर्णय लिएको बताए।

वासिङ्टन फर्कनुअघि उनले इरानले आफ्नो प्रस्तावमा केही सुधार गरे पनि त्यो अझै चित्तबुझ्दो नभएको टिप्पणी गरे।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा इरानी नेतृत्वभित्र व्यापक द्वन्द्व र अन्योल रहेको दाबी गर्दै लेखेका छन्, “हामीसँग सबै कार्डहरू छन्, उनीहरूसँग केही छैन! यदि उनीहरू कुरा गर्न चाहन्छन् भने केवल फोन गरे पुग्छ।”

उता इरानी विदेशमन्त्री अब्बास अराक्चीले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र अन्य वरिष्ठ अधिकारीहरूसँगको छलफलपछि कुनै ठोस सहमति बिना नै इस्लामावाद छोडेका छन्।

अराक्चीले आफ्नो भ्रमणलाई फलदायी भने पनि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानी प्रधानमन्त्रीसँगको टेलिफोन वार्तामा धम्की वा नाकाबन्दीका बीच थोपिएको वार्तामा सहभागी नहुने स्पष्ट पारेका छन्।

पेजेस्कियानले वार्ताका लागि अमेरिकाले पहिले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी लगायतका अवरोधहरू हटाउनुपर्ने सर्त राखेका छन्।

हाल वासिङ्टन र तेहरानबीच गम्भीर गतिरोध उत्पन्न भएको छ। इरानले विश्वको कुल तेल र ग्यास आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने ‘स्ट्रेट अफ हर्मोज’ प्रायः बन्द गरेको छ भने अमेरिकाले इरानको तेल निर्यातमा पूर्ण रोक लगाएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई हमलाबाट सुरु भएको यो द्वन्द्वले विश्वव्यापी ऊर्जा मूल्य र मुद्रास्फीति बढाएको छ, जसका कारण विश्वको आर्थिक वृद्धिदरमा नै नराम्रो असर पर्ने देखिएको छ।

यता शान्ति वार्ता असफल भइरहँदा अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सेनालाई लेबनानमा रहेका हिजबुल्लाहका लक्ष्यहरूमा शक्तिशाली आक्रमण गर्न आदेश दिएका छन्।

यो आदेशले विगत तीन हप्तादेखि जारी युद्धविरामलाई थप संकटमा पारेको छ। इस्लामावादमा रहेका इरानी कूटनीतिक स्रोतहरूका अनुसार इरानले अमेरिकाको अत्यधिक मागहरूलाई कुनै पनि हालतमा स्वीकार नगर्ने अडान लिएको छ।


प्रतिक्रिया दिनुहोस्