कलकत्ताको खुद्रा व्यापरदेखि विश्वव्यापी फर्मा नायकसम्म: सन फर्मा र दीलिप सांघवीको उदय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कलकत्ताको खुद्रा व्यापरदेखि विश्वव्यापी फर्मा नायकसम्म: सन फर्मा र दीलिप सांघवीको उदय



काठमाडौँ । सन् १९८३ मा कोलकाताको एउटा सानो औषधी बजारबाट सुरु भएको यात्रा आज विश्व फर्मा उद्योगको एउटा शक्तिशाली साम्राज्यमा परिणत भएको छ। सन फर्मास्युटिकल इन्डस्ट्रिजका संस्थापक दीलिप सांघवीले अहिले आफ्नो व्यापारिक जीवनकै सबैभन्दा ठूलो र महत्वाकांक्षी कदम चाल्ने तयारी गरेका छन्।

भारतीय कर्पोरेट इतिहासमै एउटा नयाँ मानक कायम गर्ने गरी सन फर्माले अमेरिकी कम्पनी ‘ओर्गानन एन्ड कम्पनी’ लाई झण्डै १२.५ अर्ब डलरमा खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। यदि यो सम्झौता सफल भएमा, सन् २००७ मा टाटा स्टिलले बेलायती कम्पनी कोरस खरिद गरेपछिको यो कुनै पनि भारतीय कम्पनीले गरेको सबैभन्दा ठूलो वैदेशिक अधिग्रहण हुनेछ।

यो सम्झौता केवल एउटा व्यापारिक विस्तार मात्र होइन; यो त सांघवीको त्यो चार दशक लामो रणनीतिको निरन्तरता हो, जसले सन फर्मालाई एउटा सानो व्यापारिक केन्द्रबाट भारतको सबैभन्दा मूल्यवान औषधी कम्पनीको रूपमा उभ्याएको छ।

धेरैजसो भारतीय कम्पनीहरू आफ्नै आन्तरिक उत्पादन बढाएर ठूलो बन्ने बाटो रोज्छन्, तर सांघवीले भने ‘अधिग्रहण’ लाई आफ्नो मुख्य हतियार बनाएका छन्। उनको रणनीति केवल आकार बढाउनु मात्र होइन, बरु रणनीतिक लाभ प्राप्त गर्नु, नयाँ बजारमा पहुँच बनाउनु र संकटमा परेका कम्पनीहरूलाई पुनर्जीवित गर्नुमा केन्द्रित छ।

संकटमा अवसर खोज्ने कला

सांघवीको व्यापारिक दर्शनलाई बुझ्न सन फर्माले विगतमा गरेका दुईवटा महत्वपूर्ण सम्झौताहरू (र्‍यानब्याक्सी र तारो)लाई हेर्नु आवश्यक हुन्छ। सन् २०१४ मा र्‍यानब्याक्सी ल्याबोरेटरीजको अधिग्रहण सन फर्माको इतिहासकै सबैभन्दा जटिल र प्रभावशाली मोड थियो। त्यतिबेला र्‍यानब्याक्सी गम्भीर नियामक चुनौती र वित्तीय संकटबाट गुज्रिरहेको थियो। अमेरिकी बजारमा यसको साख गिरेको थियो भने जापानी कम्पनी दाइची सान्क्यो यसबाट मुक्त हुन चाहन्थ्यो।

जहाँ अन्य लगानीकर्ताहरू जोखिम देखेर पछि हट्थे, सांघवीले त्यहाँ अवसर देखे। उनले र्‍यानब्याक्सीलाई केवल एउटा कम्पनीको रूपमा मात्र नभई, विश्वव्यापी जेनेरिक बजारमा प्रभुत्व जमाउने माध्यमका रूपमा लिए। यो अधिग्रहणले सन फर्मालाई भारतको सबैभन्दा ठूलो फर्मा कम्पनी मात्र बनाएन, बरु अन्तर्राष्ट्रिय स्तरमा यसको उपस्थिति पनि बलियो बनायो। सांघवीले अल्पकालीन घाटा सहेर भए पनि दीर्घकालीन सम्पत्ति जोगाउने धैर्यता देखाए।

त्यस्तै, इजरायली कम्पनी ‘तारो फर्मास्युटिकल्स’ को अधिग्रहणमा सांघवीले अर्कै शैली अपनाए- धैर्यताको राजनीति। उनले तारोलाई एकै पटकमा कब्जा गर्ने प्रयास गरेनन्। बरु, धेरै वर्षसम्म बिस्तारै आफ्नो सेयर हिस्सा बढाउँदै लगे। अमेरिकी छाला रोग (डर्माटोलोजी) को बजारमा तारोको बलियो पकड थियो।

सांघवीले मुल्यांकनमा विवाद हुँदा पनि धैर्य गुमाएनन् र सही समयमा मात्र पूर्ण नियन्त्रण कायम गरे। यसले के देखाउँछ भने सांघवीका लागि धैर्यता पनि एउटा प्रतिस्पर्धात्मक लाभ हो।

विश्वव्यापी सञ्जालको विस्तार

सन फर्माको यात्रा र्‍यानब्याक्सी र तारोमा मात्र सीमित छैन। कम्पनीले अमेरिकामा आफ्नो जग बलियो बनाउन ‘क्याराको फर्मास्युटिकल’ खरिद गर्‍यो, जसले गर्दा भारतीय उत्पादन निर्यात गर्ने मात्र नभई अमेरिका भित्रै उत्पादन र वितरण गर्ने क्षमता विकास भयो।

त्यसपछि च्याटेम केमिकल्स, यूआरएल फर्मा र ड्युसा फर्मास्युटिकल्स जस्ता कम्पनीहरूको अधिग्रहणले सन फर्मालाई डर्माटोलोजी, ओन्कोलोजी (क्यान्सर) र नेत्र विज्ञान (ओप्थाल्मोलोजी) जस्ता विशिष्ट क्षेत्रमा स्थापित गर्‍यो।

युरोपमा ‘ओकुलर टेक्नोलोजिज’ को खरिदले आँखा सम्बन्धी औषधीको क्षेत्रमा सन फर्मालाई प्राविधिक विशेषज्ञता प्रदान गर्‍यो।

यी प्रत्येक अधिग्रहणको पछाडि एउटा स्पष्ट उद्देश्य थियो- कुनै भूगोलमा पहुँच पुर्‍याउने, कुनै नियामक अवरोध हटाउने वा कुनै विशेष औषधी विधामा अब्बल बन्ने। यसरी एउटा सानो घरेलु उत्पादकबाट सन फर्मा आज विश्वका विकसित बजारहरूमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको छ।

सञ्चालन अनुशासन

सांघवीको व्यापारिक सफलताको अर्को पाटो भनेको कारोबारको बढोत्तरी भन्दा पनि नाफा र नगद प्रवाहलाई प्राथमिकता दिनु हो। सन फर्माले कहिल्यै पनि सस्तो लोकप्रियताका लागि जथाभावी हात हालेको छैन। बरु, सीमित क्षेत्रमा गहिरो विशेषज्ञता हासिल गर्ने नीति लिएको छ।

कम्पनीको निर्णय प्रक्रिया निकै छरितो र केन्द्रिकृत छ, जसले गर्दा ठूला रणनीतिक निर्णयहरू छिटो र प्रभावकारी रूपमा लिन सकिन्छ। र्‍यानब्याक्सीको अनुभवपछि सांघवीले नियामक निकायहरूको मापदण्ड पालना (कम्प्लायन्स) मा पनि विशेष जोड दिँदै आएका छन्।

दवा बजारदेखि बोर्डरुमसम्मको यात्रा

दीलिप सांघवीको पृष्ठभूमि कुनै ठूलो औद्योगिक घरानाको होइन। उनले कोलकाताको प्रसिद्ध ‘दवा बजार’ मा आफ्ना बुबासँग औषधी वितरणको कामबाट व्यवसाय सिकेका हुन्। स्नातक हुनुअघि नै औषधी कसरी बजारमा पुग्छ, मूल्य निर्धारण कसरी हुन्छ र कुन रोगका औषधीको माग कस्तो छ भन्ने कुरा उनले ग्राउन्ड लेभलबाटै बुझेका थिए।

सन् १९८३ मा बुबासँग १० हजार भारु ऋण लिएर उनले सन फर्माको स्थापना गरेका थिए। सुरुमा केवल मानसिक रोगका औषधीमा ध्यान दिएर मुनाफा कमाउने रणनीति बनाएका उनले बिस्तारै व्यवसायलाई ‘स्केल अप’ गर्दै अर्थात् फैलाउँदै लगे। उनको यो संयमित विस्तारको सिद्धान्त नै आज सन फर्माको मेरुदण्ड बनेको छ।

शान्त तर तीक्ष्ण व्यक्तित्व

७० वर्षीय सांघवी भारतीय अर्बपतिहरूमध्ये सबैभन्दा कम चर्चामा आउन रुचाउने व्यक्तित्व हुन्। उनी कुनै पार्टी वा मिडियाको तामझाममा देखिँदैनन्। अत्यन्तै मृदुभाषी र कम बोल्ने स्वभावका सांघवीका निर्णयहरू भने निकै विश्लेषणात्मक र दुरगामी हुन्छन्।

उनको एउटा रोचक पक्ष के छ भने, उनी वाणिज्य शास्त्रका विद्यार्थी भए पनि औषधी विज्ञानका जटिल अणु (मोलेकुल) र उपचार पद्धतिबारे ठूला वैज्ञानिकहरूसँग पनि टक्कर लिन सक्छन्। उनी काम सुम्पिन (डेलिगेसन) मा विश्वास गर्छन्, तर रणनीतिक नियन्त्रण सधैं आफ्नै हातमा राख्छन्।

आज सन फर्माले ओर्गानन खरिदको जुन तयारी गरिरहेको छ, यसले दीलिप सांघवीलाई केवल भारतको मात्र होइन, विश्वकै फर्मा क्षेत्रको एक कुशल ‘बाइआउट आर्टिस्ट’ का रूपमा स्थापित गरिदिएको छ। कोलकाताको गल्लीबाट सुरु भएको यो यात्राले भारतीय उद्योग जगतको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याएको छ।

(इकोनोमिक टाइम्समा छापिएको सामग्रीको अनौपचारिक अनुवाद ।)


प्रतिक्रिया दिनुहोस्