धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया सुरु: ७ दिनभित्र आवेदन दिन आह्वान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया सुरु: ७ दिनभित्र आवेदन दिन आह्वान



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि नयाँ नियुक्ति प्रक्रिया तीव्र पारिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा गठित सिफारिस समितिले एक सूचना जारी गर्दै आगामी ७ दिनभित्र इच्छुक उम्मेदवारहरूलाई आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) पेस गर्न आह्वान गरेको छ । समितिले ’फास्ट ट्रयाक’ बाट नाम सिफारिस गर्ने तयारी स्वरूप यो प्रक्रिया अघि बढाएको हो ।

यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते आफ्नो पदबाट राजीनामा दिएपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । सोही रिक्तता पुरा गर्न वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवन दाहाल सदस्यका रूपमा रहेका छन् ।

अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारहरूले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ । यसका साथै धितोपत्र बजार, वित्तीय क्षेत्र, व्यवस्थापन, कानुन, अर्थशास्त्र, लेखा, वाणिज्य वा सार्वजनिक प्रशासन जस्ता सम्बन्धित क्षेत्रमा पर्याप्त अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने स्रोतमा उल्लेख छ ।

योग्यताका अन्य मापदण्डहरूमा उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, दामासाहीमा नपरेको र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई यस नियुक्तिमा प्राथमिकता दिइने समितिले जनाएको छ । लामो समयदेखि नेतृत्वविहीन रहेको सेबोनमा नयाँ अध्यक्षको आगमनसँगै पुँजीबजार सुधार, रोकिएका नीतिगत निर्णयहरू र नियामक निकायका कामकारबाहीले पुन: गति लिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्