अमेरिकामा डोनाल्ड ट्रम्पको तस्विर अंकित विशेष पासपोर्ट जारी हुँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अमेरिकामा डोनाल्ड ट्रम्पको तस्विर अंकित विशेष पासपोर्ट जारी हुँदै



काठमाडाैं । संयुक्त राज्य अमेरिकाले आफ्नो स्वतन्त्रताको २५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्विर अंकित विशेष पासपोर्ट जारी गर्ने तयारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले मंगलबार दिएको जानकारी अनुसार, वासिङ्टन पासपोर्ट एजेन्सीबाट व्यक्तिगत रूपमा पासपोर्ट नवीकरण गर्नेहरूका लागि यो नयाँ डिजाइनको पासपोर्ट उपलब्ध गराइनेछ।

नयाँ पासपोर्टको भित्री कभरमा ट्रम्पको अनुहार र सुनौलो अक्षरमा उनको हस्ताक्षर रहनेछ। विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटका अनुसार, जुलाईमा मनाइने अमेरिकाको ऐतिहासिक २५० औँ वार्षिकोत्सवलाई स्मरण गर्न सीमित संख्यामा यस्ता विशेष पासपोर्टहरू सार्वजनिक गर्न लागिएको हो। यी पासपोर्टहरूमा सुरक्षाका सबै मापदण्डहरू यथावत राख्दै विशेष कलाकृति र तस्विरहरू समावेश गरिने बताइएको छ।

अनलाइन माध्यम वा अन्य स्थानबाट पासपोर्ट नवीकरण गर्नेहरूका लागि भने हालकै पुरानो डिजाइन कायम रहने अधिकारीहरूले स्पष्ट पारेका छन्। यो नयाँ पासपोर्ट आगामी गर्मी मौसम (समर) देखि जारी गर्न सुरु गरिनेछ, यद्यपि कति संख्यामा यस्ता पासपोर्टहरू छापिनेछन् भन्ने कुरा अझै खुल्न सकेको छैन।

यसअघि अमेरिकी पासपोर्टको भित्री कभरमा अमेरिकी राष्ट्रगानका लेखक फ्रान्सिस स्कट कीको पेन्टिङ र राष्ट्रगानका हरफहरू हुने गर्थे। नयाँ डिजाइनको पछाडिको कभरमा भने जोन ट्रम्बुलले बनाएको “स्वतन्त्रताको घोषणा” (द डिक्लेरेसन अफ् इन्डिपेन्डेन्स) को प्रख्यात चित्र रहने बताइएको छ।

पासपोर्ट बाहेक अमेरिकाको २५० औँ जन्मोत्सव मनाउन अन्य सामग्रीहरूमा पनि ट्रम्पको छवि प्रयोग भइरहेको छ। हालै मात्र नेशनल पार्क पास र विशेष सिक्काहरूमा पनि ट्रम्पको तस्विर अंकित गर्ने निर्णय भइसकेको छ। पासपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त १० वर्षसम्म मान्य हुने परिचयपत्र भएकाले यसलाई ट्रम्पको छविको सबैभन्दा महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्