९ महिनामा फाइनान्स कम्पनीको नाफामा सुधार: मञ्जुश्री पहिलो हुँदा गोर्खाको लोभलाग्दो प्रगति
काठमाडौँ । नेपालको वित्तीय बजारमा सुस्तताका बिच पनि फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२ को चैत मसान्तसम्ममा लोभलाग्दो प्रगति देखाएका छन् । खराब कर्जा र आर्थिक मन्दीको दबाबका बिच सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरूको समग्र खुद नाफामा २७१.२२ प्रतिशतको विशाल छलाङ देखिएको छ ।
गत आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म जम्मा १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ मात्रै रहेको फाइनान्स क्षेत्रको कूल नाफा यस वर्ष बढेर ७० करोड ४० लाख ४६ हजार रुपैयाँ पुगेको छ । यो तथ्याङ्कले वित्तीय बजारमा फाइनान्स कम्पनीहरूको पकड बिस्तारै बलियो बन्दै गएको र उनीहरूले आफूलाई ’रिभरकी’ को बाटोमा डोर्याएको प्रस्ट पार्छ ।
समग्र वित्तीय विवरणलाई हेर्दा अधिकांश कम्पनीहरूले गत वर्षको घाटालाई नाफामा बदल्न सफल भएका छन् भने केही पुराना र स्थापित नामहरूले आफ्नो साख जोगाउन सङ्घर्ष गरिरहेका छन् । बजारमा तरलताको सहजता र ब्याजदरमा आएको फेरबदलका कारण पनि फाइनान्स कम्पनीहरूले आफ्नो व्यवसाय विस्तारमा जोड दिएको देखिन्छ । यद्यपि, १५ मध्ये ३ वटा कम्पनी अझै पनि ऋणात्मक (घाटामा) रहनुले यस क्षेत्रमा जोखिमका सुइहरू अझै बाँकी रहेको सङ्केत गर्दछ ।
मञ्जुश्रीको राज, मल्टिप्रपोज र समृद्धिको सुस्त गति
नाफा कमाउने दौडमा यस पटक पनि मञ्जुश्री फाइनान्सले आफ्नो वर्चस्व कायम राखेको छ । मञ्जुश्रीले २१ करोड ८९ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई यो क्षेत्रको ’लिडर’ साबित गरेको छ ।
त्यस्तै, दोस्रो स्थानमा गोर्खाज फाइनान्स देखिएको छ । जसले १२ करोड ९४ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो कम्पनीका लागि ठुलो उपलब्धि हो किनभने गत वर्ष यो समयमा गोर्खाज ६ करोड २१ लाख ८२ हजार रुपैयाँ घाटामा थियो ।
तेस्रो स्थानमा आईसीएफसी फाइनान्स रहेको छ । जसले १० करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, आईसीएफसीको नाफा गत वर्षको तुलनामा घटेको छ । १० करोड माथि नाफा कमाउने अर्को कम्पनी गुडविल फाइनान्स बनेको छ । जसले १० करोड १३ लाख ३६ हजार रुपैयाँको नाफा गरेको छ ।
सबैभन्दा कम नाफा कमाउने कम्पनीमा समृद्धि फाइनान्स देखिएको छ । यसले जम्मा ७ लाख ४० हजार रुपैयाँ मात्र नाफा कमाएको छ । यद्यपि, गत वर्ष ३ करोड ५७ लाख ५ हजार रुपैयाँ घाटामा रहेको यो कम्पनीका लागि थोरै भए पनि नाफामा आउनु सुखद पक्ष हो ।
त्यस्तै, मल्टिप्रपोज फाइनान्सले ५३ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा निकै कम हो । सबैभन्दा कमजोर अवस्थामा नेपाल फाइनान्स देखिएको छ । जुन ७ करोड ८६ लाख २५ हजार रुपैयाँ घाटामा छ । जानकी फाइनान्स २ करोड ९० लाख ८९ हजार र प्रोग्रेसिभ फाइनान्स २ करोड ४७ लाख ४३ हजार रुपैयाँ घाटामा रहेर बजारमा सङ्घर्ष गरिरहेका छन् ।
ग्रोथमा गुडविलको ’सिक्सर’, नेपाल फाइनान्सको गिरावट
वृद्धिदरको हिसाबले हेर्ने हो भने यस पटक गुडविल फाइनान्सले सबैलाई आश्चर्यमा पारेको छ । गुडविलको नाफामा ५६५.७२ प्रतिशतको कीर्तिमानी वृद्धि भएको छ । गत वर्ष जम्मा १ करोड ५२ लाख २२ हजार रुपैयाँ नाफा गरेको यस कम्पनीले यस वर्ष १० करोडको आँकडा पार गरेको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको प्रगति पनि लोभलाग्दो छ । जसले ३०८ प्रतिशतको ग्रोथ हासिल गर्दै घाटाबाट नाफाको यात्रा तय गरेको छ । वेस्ट फाइनान्स १७८ प्रतिशत, रिलायन्स फाइनान्स १२१.६९ प्रतिशत र सेन्ट्रल फाइनान्स ११७.५८ प्रतिशतको वृद्धिदरका साथ अगाडि बढेका छन् । यिनीहरूले पुरानो घाटालाई रिकभर गर्दै लगानीकर्तामा उत्साह जगाएका छन् ।
तर, सबै कम्पनीको कथा सुखद छैन । नेपाल फाइनान्सको तथ्याङ्क हेर्ने हो भने यो निकै भयावह देखिन्छ । गत वर्ष १७ लाख रुपैयाँ नाफामा रहेको यो कम्पनी यस वर्ष ४ हजार ७२५ प्रतिशतले ओरालो लाग्दै ७ करोड ८६ लाख २५ हजार रुपैयाँ घाटामा पुगेको छ । यो गिरावटले कम्पनीको व्यवस्थापन र आन्तरिक वित्तीय स्वास्थ्यमाथि ठुलो प्रश्न चिन्ह खडा गरिदिएको छ ।
त्यस्तै, मल्टिप्रपोज फाइनान्सको नाफामा ७५.४१ प्रतिशतको गिरावट आएको छ भने श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफा पनि ४८.३६ प्रतिशतले खुम्चिएको छ । आईसीएफसी फाइनान्सले १० करोड कमाए पनि यसको वृद्धिदर नकारात्मक (–४७.१४%) रहनुले ठुला कम्पनीहरूलाई पनि व्यवसाय टिकाउन चुनौतीपूर्ण रहेको देखिन्छ ।
चैत मसान्तसम्मको यो तथ्याङ्कले फाइनान्स क्षेत्रमा ठुलो ’उथलपुथल’ आएको र आगामी दिनमा मर्जर वा कडा वित्तीय सुधारको आवश्यकता रहेको प्रस्ट पार्छ ।













