तीन सरकारी कोषलाई निजी फण्डमा लगानी गर्ने बाटो खुल्यो, ल्याउला पूँजी बजारमा उत्साह ?
काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानी गर्ने दायरालाई विस्तार गर्दै नयाँ क्षेत्रहरू खुला गरिदिएको छ।
अध्यादेशमार्फत सम्बन्धित ऐनहरूमा संशोधन गर्दै सरकारले यी ठूला कोषहरूलाई अब म्युचुअल फण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डहरूमा पनि लगानी गर्न सक्ने बाटो खोलेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जारी गरेको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश’ मार्फत नागरिक लगानी कोष ऐन, कर्मचारी सञ्चय कोष ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा आवश्यक परिमार्जन गरिएको छ।
यसअघि यी कोषहरूले मुख्यतया बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, सरकारी ऋणपत्र र सूचीकृत शेयरहरूमा मात्रै लगानी गर्दै आएका थिए।
नयाँ व्यवस्था अनुसार नागरिक लगानी कोषले अब वाणिज्य बैंक र बीमा कम्पनीको शेयरमा मात्र सीमित नभई धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड वा भेन्चर क्यापिटल फण्डका इकाइहरूमा पनि लगानी गर्न पाउनेछ।
त्यसैगरी, कर्मचारी सञ्चय कोषले यसअघि आफ्नै सामूहिक लगानी योजना मात्र सञ्चालन गर्न पाउने व्यवस्था रहेकोमा अब बाह्य म्युचुअल फण्ड र भेन्चर क्यापिटलमा समेत सहभागी हुन सक्नेछ।
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको लगानी नीतिमा पनि सुधार गरिएको छ। अब यो कोषले पनि म्युचुअल फण्डका अतिरिक्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटलका औजारहरूमा लगानी गरेर आफ्नो प्रतिफल बढाउने अवसर प्राप्त गरेको छ।
सरकारी स्वामित्वका यी तीन ठूला निकायहरूसँग अर्बौँ रुपैयाँको पूँजी संकलन छ। लगानीका क्षेत्रहरू खुम्चिँदा उनीहरूको रकम बैंकमा मात्र थुप्रिने गरेको थियो।
अब प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता नयाँ र गतिशील क्षेत्रमा लगानी खुलेसँगै नेपालको पूँजी बजारमा तरलता बढ्ने र नयाँ स्टार्टअप तथा उद्यमहरूले पनि संस्थागत लगानी पाउने अपेक्षा गरिएको छ।













