बैंकिङ प्रणालीमा अधिक तरलता: ४४ दिनका लागि २० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि केन्द्रीय बैंकले त्यसलाई व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज वैशाख २३ गते दिउँसो ३ बजे अनलाइन विडिङ प्रणालीमार्फत बोलकबोल गर्ने जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यो निक्षेप संकलन उपकरणको अवधि ४४ दिनको हुनेछ र यसको साँवा तथा ब्याज भुक्तानी आगामी असार ५ गते गरिने राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। ब्याजदरको निर्धारण बोलकबोलको माध्यमबाटै तय हुनेछ, जसमा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ।
बैंकहरूले राष्ट्र बैंकमा राखेको यो निक्षेपलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाउने सुविधा दिइएको छ। पछिल्लो समय बजारमा कर्जाको माग सुस्त रहँदा बैंकिङ प्रणालीमा अधिक तरलताको चाप परिरहेको छ।













