स्ट्रेट अफ हर्मोजकाे अवरोधले साउदीकाे तेल बिक्रीमा धक्का, बेहोर्यो ३३.५ अर्ब डलर बजेट घाटा
काठमाडाैं । विश्वको प्रमुख तेल निर्यातक मुलुक साउदी अरबको आर्थिक अवस्थामा ठूलो धक्का लागेको छ। स्ट्रेट अफ हर्मोज बन्द भएसँगै तेल बिक्रीमा आएको गिरावट र सरकारी खर्चमा भएको बढोत्तरीका कारण साउदीको बजेट घाटा तीव्र रूपमा बढेको छ।
साउदी अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, सन् २०२६ को पहिलो तीन महिनामा अधिराज्यको बजेट घाटा १२५.७ अर्ब रियाल (करीब ३३.५ अर्ब अमेरिकी डलर) पुगेको छ। यो घाटा गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो भने सन् २०२५ को अन्तिम त्रैमासको तुलनामा झण्डै एक तिहाइले बढी हो।
साउदी अधिकारीहरूले सन् २०२६ को पूरा वर्षका लागि ६५ अर्ब रियाल मात्र घाटा हुने प्रक्षेपण गरेका थिए, तर वर्षको सुरुवाती तीन महिनामै त्यसको झण्डै दोब्बर घाटा देखिएको छ।
बजेट घाटा बढ्नुको मुख्य कारण एकातिर तेलबाट हुने आम्दानी घट्नु र अर्कोतिर सरकारी खर्च २० प्रतिशतले बढेर ३८६.७ अर्ब रियाल पुग्नु हो।
यस अवधिमा तेलबाट हुने राजस्व ३ प्रतिशतले घटेर १४४.७ अर्ब रियालमा सीमित भएको छ। क्षेत्रगत रूपमा हेर्दा आर्थिक स्रोतमा ५२ प्रतिशत, सामान्य प्रशासनिक कार्यमा ४६ प्रतिशत तथा सैन्य, पूर्वाधार र यातायात क्षेत्रमा २६ प्रतिशतले खर्च बढेको मन्त्रालयको तथ्यांकले देखाउँछ।
इरानले सो क्षेत्रमा जहाज सञ्चालनमा अवरोध पुर्याउने धम्की दिएपछि विश्वको झण्डै २० प्रतिशत इन्धन आपूर्ति हुने हर्मोज जलसन्धि विगत दुई महिनादेखि ठप्प प्रायः छ।
साउदी अरबले आफ्नो अधिकांश तेल निर्यातलाई ‘इस्ट-वेस्ट पाइपलाइन’ मार्फत लाल सागरको यान्बु बन्दरगाहबाट पठाउने प्रयास गरे पनि जलसन्धि बन्द हुनुले उसको अर्थतन्त्रको मुख्य आधार मानिने तेल बिक्रीमा निकै असर पारेको छ। सन् २०२५ मा मात्रै साउदीले तेल र पेट्रोलियम पदार्थबाट ६०६.५ अर्ब रियाल राजस्व संकलन गरेको थियो।
यसैबीच, हर्मोज जलसन्धि खुलाउनका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरु गरेको सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ सुरु भएको ४८ घण्टा नबित्दै स्थगित गरिएको छ। इरानसँगको शान्ति वार्तामा उल्लेख्य प्रगति भएको भन्दै ट्रम्पले मंगलबार सैन्य कारबाही रोक्ने निर्णय गरेका हुन्।
यसले क्षेत्रीय तनाव कम हुने र साउदीको तेल व्यापार पुनः सहज हुने अपेक्षा गरिए पनि तत्कालका लागि भने साउदी अर्थतन्त्रमा ठूलो दबाब देखिएको छ।













