बीपी राजमार्ग ३ दिनपछि सञ्चालनमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीपी राजमार्ग ३ दिनपछि सञ्चालनमा



काठमाडाैं । लगातारको वर्षा र बाढीका कारण तीन दिनदेखि ठप्प बनेको बीपी राजमार्ग अन्ततः पुनः सञ्चालनमा आएको छ।

रोशी खोलामा आएको बाढीले सडक क्षतिग्रस्त बनाएपछि अवरुद्ध भएको यो मार्गमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरी आज बिहानदेखि सवारी आवागमन सुचारु गरिएको हो। गत सोमबारको भारी वर्षाले सडक बगाएपछि यो मार्ग भएर चल्ने यातायातका साधनहरू बीच बाटोमै रोकिएका थिए।

यद्यपि, मौसम अझै प्रतिकूल रहेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयले अत्यावश्यक कामबाहेक यो सडक खण्ड प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

विशेषगरी रोशी क्षेत्रको झन्डै चार किलोमिटर खण्डमा बनाइएको अस्थायी बाटो निकै जोखिमपूर्ण छ। थोरै वर्षा हुनेबित्तिकै उक्त डाइभर्सनमा क्षति पुग्ने सम्भावना रहने भएकाले जोखिम कम गर्न प्रहरीले वर्षाको समयमा सवारी साधन रोक्ने गरेको छ।

पछिल्लो समय राजमार्ग अवरुद्ध हुँदा यात्रु र सवारी साधनहरू धुलिखेल, काभ्रेभञ्ज्याङ, मंगलटार र सिन्धुलीको नेपालथोक जस्ता स्थानमा रोकिनुपर्ने बाध्यता छ।

गत वर्षको विनाशकारी बाढीले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रको करिब १८ किलोमिटर पक्की सडक पूर्ण रूपमा बगाएपछि अहिले खोलाकै किनारबाट वैकल्पिक बाटो बनाइएको हो। हाल सो क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहे पनि वर्षातको समयमा बारम्बार हुने अवरोधले यात्रुहरूले सास्ती खेप्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्