तीनै सरकारी बैंकका अध्यक्षहरूले एकैसाथ दिए राजिनामा
काठमाडौं । मुलुकका तीन ठूला सरकारी बैंकका अध्यक्षहरूले एकैसाथ आफ्नो पदबाट राजीनामा दिएका छन्।
सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले बुधबार नै राजीनामा बुझाएका हुन्।
अर्थ मन्त्रालय मातहतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पुगेर राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले राजिनामा दिएकाे बतथाइएकाे छ।
याेसँगै एकैपटक तीन वटा प्रमुख सरकारी बैंकका अध्यक्षहरू रिक्त भएकाे छ ।
वर्तमान सरकारले अध्यादेशमार्फत एक विशेष निर्णय गर्दै अघिल्लो सरकारको पालामा नियुक्त भएका १ हजार ५ सय ९४ जना राजनीतिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। सो सूचीमा विभिन्न संस्थान र निकायका व्यक्तिहरू समेटिए पनि सरकारी बैंकका यी पदाधिकारीहरू भने प्रत्यक्ष रूपमा प्रभावित भएका थिएनन्।
अध्यादेशले पदमुक्त नगरे पनि सरकार परिवर्तनसँगै नयाँ नेतृत्वलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले उनीहरूले पद छाडेको बुझिएको छ। सरकारले नयाँ टिम ल्याउन चाहेको र ‘मार्ग प्रशस्त’ गरिदिन आग्रह गरेपछि नै बैंकका अध्यक्षहरूले सामूहिक रूपमा राजीनामा बुझाएको स्रोतको दाबी छ।













