हर्मुज जलमार्गमा अमेरिका-इरानबीच भीषण सैन्य मुठभेड, फेरि अकासियो कच्चा तेलको मूल्य
विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग हर्मुज जलसन्धि (दुईटा ठूला समुद्रहरुलाई जोड्ने साँघुरो जलमार्ग) मा अमेरिका र इरानका सेनाबीच भीषण सैन्य मुठभेड भएको छ।
यस भिडन्तले गत अप्रिल ७ मा दुई देशबीच भएको अस्थायी युद्धविराम सम्झौतालाई गम्भीर चुनौती दिएको छ।
इरानी सैन्य कमान्डका अनुसार अमेरिकी सेनाले आफ्नो तेल ट्याङ्कर र अर्को एक जहाजलाई निशाना बनाएपछि तनाव सुरु भएको हो।
इरानले यसलाई आफ्नो बन्दरगाहमा अमेरिकाले गरेको नाकाबन्दी विरुद्धको पहिलो सैन्य प्रतिक्रिया भनेको छ। खाडीको सबैभन्दा ठूलो टापु केशमको व्यावसायिक क्षेत्र र बन्दर अब्बास सहर नजिकै शृंखलाबद्ध विष्फोटका आवाजहरू सुनिएका छन्।
यता अमेरिकी पक्षले भने इरानले आफ्ना तीनवटा युद्धपोतमाथि मिसाइल, ड्रोन र साना डुङ्गाहरूबाट आक्रमण गरेपछि प्रतिरक्षाका लागि जवाफी हवाई हमला गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना जहाजहरूमा कुनै क्षति नपुगेको तर इरानी आक्रमणकारीहरूलाई ठूलो नोक्सानी भएको बताएका छन्।
दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाए पनि हाललाई सम्झौता कायमै रहेको र स्थिति सामान्य बन्दै गएको संकेत गरेका छन्। फेब्रुअरीदेखि नै इरानी आक्रमणको त्रासले यस जलमार्गबाट हुने ढुवानी लगभग ठप्प जस्तै बनेको छ।
यस सैन्य तनावको सीधा असर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको छ। विश्वको कूल तेल र प्राकृतिक ग्यास आपूर्तिको करिब पाँच भागको एक भाग ओगट्ने यस क्षेत्रमा झडप भएपछि तेलको मूल्यमा भारी वृद्धि भई प्रतिब्यारेल १०० डलर नाघेको छ।
अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य ७.५ प्रतिशतसम्मले बढेको छ। हाल अन्तर्राष्ट्रिय बेन्चमार्क तेल प्रतिब्यारेल १०१.१२ डलर र अमेरिकी कच्चा तेल ९७.२६ डलरमा कारोबार भइरहेको छ।
युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा तेलको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि भइसकेको छ। विश्व बजारमा हाल दैनिक झण्डै १ करोड ४५ लाख ब्यारेल उत्पादनको अभाव देखिएको छ। सैन्य तनावले उर्जा आपूर्तिमा अवरोध पुग्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसले गर्दा विश्व अर्थतन्त्रमा थप अनिश्चितता छाएको छ। यो समुद्री घेराबन्दी र पछिल्लो भिडन्तले वासिङ्टन र तेहरानबीचको सम्बन्धलाई थप जटिल बनाएको छ।













