तेल बजारमा रहस्यमयी दाउपेच, युद्धको खबरअघि कसरी भयो अर्बौँको खेल? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तेल बजारमा रहस्यमयी दाउपेच, युद्धको खबरअघि कसरी भयो अर्बौँको खेल?



विश्व राजनीति र अर्थतन्त्रको केन्द्रमा रहेको कच्चा तेलको बजार स्वाभाविक रुपमै सट्टेबाजीको थलो हो । तर यसपल्ट जुवाको ठूलो खालजस्तै गरी तेल बजारमा निकै रोचक र रहस्यमयी घटनाहरु भएको देखिएको छ ।

इरानसँगको सम्भावित युद्ध र शान्तिका खबरहरू सार्वजनिक हुनुभन्दा ठीक केही मिनेटअघि बजारमा करिब ७ अर्ब डलर बराबरको यस्तो बाजी थापियो, जसले धेरैलाई अचम्ममा पारेको छ। यो कुनै सामान्य व्यापार मात्र थिएन; यो त आउँदै गरेको आँधीको पूर्वसंकेत पाएर गरिएको एउटा ठूलो दाउपेच जस्तो देखिन्छ।

मार्च र अप्रिल महिनाका विभिन्न मितिहरूमा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित महत्वपूर्ण नीतिगत घोषणाहरू गर्न लागेका थिए, ठ्याक्कै त्यही समयमा तेलको मूल्य घट्ने पक्षमा अर्बौँ डलरका ‘सर्ट पोजिसन’ अर्थात् मूल्य ओरालो लाग्ने बाजीहरू थापिए। यसको सिधा अर्थ के हो भने, कसैलाई पहिल्यै थाहा थियो कि अब तेलको मूल्य ह्वात्तै घट्दैछ।

‘सर्ट पोजिसन’ वा ‘सर्ट सेलिङ’ भनेको एउटा यस्तो चलाखीपूर्ण तरिका हो, जहाँ लगानीकर्ताले बजार घट्दा नाफा कमाउँछन्। सामान्यतया हामी सस्तोमा किनेर महँगोमा बेच्ने सोच्छौँ, तर सर्ट पोजिसनमा भने ठ्याक्कै उल्टो हुन्छ : पहिले महँगोमा बेचिन्छ र पछि सस्तोमा किनिन्छ।

यसलाई अझ सरल भाषामा यसरी बुझ्न सकिन्छ– तपाइँको साथिले भोलि नै सुनको भाउ ह्वात्तै घट्दै छ भन्ने थाहा पाउँछ । त्यसपछि उसले तपाइँसँग १ तोलाको सुनको सिक्री सापटी लिन्छ । त्यो सिक्री लगेर उसले ३ लाख रुपैयाँमा बेचिदिन्छ । तर भोलि सुनको भाउ ह्वात्तै घट्छ । त्यो साथीले आज बेचेको त्यही सिक्री भोलि गएर २ लाख ५० हजारमा किन्छ र तपाइँलाई दिन्छ । यसरी बीचमा बसेर रातारात ५० हजार रुपैयाँ आफ्नो गोजिमा हाल्छ, त्यो पनि कुनै लगानी बेगर । यसैलाई ‘सर्ट सेलिङ’ भनिन्छ ।

सुरुमा यो खेल २.६ अर्ब डलरको मात्रै होला भन्ने अनुमान गरिएको थियो। तर बजारको गहिरो अध्ययन गर्दा के देखियो भने, यो जालो निकै ठूलो छ।

युरोपेली डिजेलदेखि अमेरिकी ग्यासोलिनसम्मका विभिन्न इन्धनका प्रकारहरूमा यो दाउपेच फैलिएको पाइएको छ। “सबै संघीय कर्मचारीहरूले सरकारी नैतिकताका नियमहरू पालना गर्नुपर्छ, जसले आर्थिक लाभका लागि गोप्य सूचनाहरूको प्रयोग गर्न निषेध गर्दछ,” ह्वाइट हाउसका एक प्रवक्ताले बताए।

यो भनाइले कतै न कतै सरकारी संयन्त्रभित्रकै सूचना चुहिएको त होइन भन्ने आशंकालाई बल पुर्‍याएको छ।

यस खेलको एउटा रोचक पक्ष मार्च २३ को घटना हो। राष्ट्रपति ट्रम्पले इरानको विद्युत पूर्वाधारमा गर्ने भनिएको आक्रमण टरेको घोषणा गर्नुभन्दा केही मिनेटअघि नै बजारमा २.२ अर्ब डलर बराबरको तेल बिक्री गर्ने आदेशहरू आए। घोषणा हुनासाथ तेलको मूल्य १५ प्रतिशतसम्मले ओरालो लाग्यो।

सामान्य मानिसले बुझ्ने भाषामा भन्दा, यदि तपाईंले कुनै सामान सस्तो हुने निश्चित छ भन्ने थाहा पाएर महँगोमा बेच्ने सम्झौता गर्नुभयो र पछि सस्तोमा किनेर फिर्ता गर्नुभयो भने, बीचको त्यो ठूलो अन्तर नै तपाईंको नाफा हो। यसैलाई बजारको भाषामा ‘सर्ट सेलिङ’ भनिन्छ, जहाँ मूल्य घट्दा नै व्यापारीलाई फाइदा हुन्छ।

यो घटना एक पटक मात्र भएन। अप्रिल ७ मा बजार सुनसान भएको समयमा फेरि २.१२ अर्ब डलरको यस्तै दाउ खेलियो र त्यसको केही बेरमै ट्रम्पले युद्धविरामको घोषणा गरे। अप्रिल १७ र २१ मा पनि ठ्याक्कै यही लय दोहोरियो। सूचनाको यस्तो सटिक तालमेल देखेपछि विज्ञहरू र कानुन निर्माताहरूले यो ‘भित्री सूचना’ वा ‘इनसाइडर ट्रेडिङ’ को मामिला हुन सक्ने भन्दै छानबिनको माग गरेका छन्।

“तथ्यहरूलाई नै हेरौँ। कारोबारको यो परिमाण निकै अस्वभाविक थियो। यो निकै केन्द्रित थियो र मुख्य घोषणाहरू हुनुभन्दा ठ्याक्कै अगाडि गरिएको थियो,” तेलको मूल्य निर्धारण गर्ने आधुनिक प्रणालीका सूत्रधार जोर्गे मोन्टेपेकलाई उर्द्धृत गर्दै ‘रोयटर्स’ ले लेखेको छ । उनका अनुसार यति ठूलो परिमाणमा गरिएको कारोबारले कसै न कसैको नजर त तान्ने नै थियो।

अहिले अमेरिकी नियमनकारी निकाय कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन र न्याय विभागले यस विषयमा सुक्ष्म अनुसन्धान गरिरहेका छन्। उनीहरूले यो खेलको खेलाडी को हो र यो सूचनाको स्रोत कहाँ थियो भन्ने पत्ता लगाउने कोसिस गरिरहेका छन्। यति ठूलो रकमको दाउ थापेर कसैले रातारात करोडौँ डलर नाफा कमाएको छ, जबकि आम लगानीकर्ताहरू भने बजारको यो अनपेक्षित उतारचढावले रन्थनिएका छन्।


प्रतिक्रिया दिनुहोस्