निजी क्षेत्र सरकारको साझेदार हो, सरकारले व्यवसायी थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. वाग्ले - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निजी क्षेत्र सरकारको साझेदार हो, सरकारले व्यवसायी थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई सरकारले धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई हतोत्साहित पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेका हुन्।

कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले व्यवसायीहरू माझ फैलिएको त्रास चिर्ने प्रयास गरेका छन्। “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन, तपाईंहरू हल्लाको पछि नलाग्नुहोस्, तपाईंहरू त हाम्रो साझेदार हो,” उनले भने। उनले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने समेत बताए।

सो अवसरमा अर्थमन्त्रीले सरकारका पाँच मुख्य प्राथमिकताहरू बारे प्रस्ट पारेका छन्। उनले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताए। यस्तै, दोस्रोमा अर्थतन्त्रको पुनरुत्थान, तेस्रोमा आन्तरिक तथा बाह्य सञ्जाल (कनेक्टीभिटी) विस्तार, चौथोमा सामाजिक लगानी र पाँचौँ प्राथमिकतामा पर्यटन, संस्कृति र इतिहासमार्फत ‘सौम्य शक्ति’ (सफ्ट पावर) विस्तार रहेको उनले उल्लेख गरेका छन्।

मुलुकको अर्थतन्त्र अहिले निर्णायक मोडमा रहेको भन्दै उनले आगामी बजेटसम्म धैर्य गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। छिमेकी मुलुक भारतको आर्थिक प्रगतिको उदाहरण दिँदै उनले राजनीतिक स्थायित्व र इमानदारी भएमा नेपालले पनि फड्को मार्न सक्ने बताए। “सन् २०१४/१५ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचकहरू अहिलेको नेपालकै हाराहारीमा थिए, तर १२ वर्षमा त्यहाँ ठुलो परिवर्तन आयो, अब हामी पनि सोही बाटोमा लाग्ने बेला भएको छ,” उनले भने।


प्रतिक्रिया दिनुहोस्