बैंकमा पैसा फालाफाल, वैशाखको २५ दिनमै राष्ट्र बैंकले तान्यो ५ खर्ब २० अर्ब - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बैंकमा पैसा फालाफाल, वैशाखको २५ दिनमै राष्ट्र बैंकले तान्यो ५ खर्ब २० अर्ब



काठमाडौं । बैंकिङ प्रणालीमा पैसाको थुप्रो यसरी लागेको छ कि नेपाल राष्ट्र बैंकलाई त्यो पैसा व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ । लगानीका ढोकाहरू नखुल्दा र कर्जाको माग सुस्ताउँदा बैंकहरूमा थुप्रिएको लगानीयोग्य रकम (तरलता) राष्ट्र बैंकले वैशाख महिनाको २५ दिनभित्रै ५ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी तानिसकेको छ । नयाँ सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि लगानीकर्ताको आत्मविश्वास नर्फकिँदा बैंकको ढुकुटीमा पैसा थुप्रिने क्रम रोकिएको छैन ।

नयाँ वर्ष २०८३ सुरु भएलगत्तै केन्द्रीय बैंकले बजारबाट पैसा खिच्ने कामलाई तीव्र बनाएको देखिन्छ । वैशाख २ गते ५६ दिनका लागि ४० अर्ब रुपैयाँ तानेर सुरु भएको यो सिलसिला वैशाख २५ गतेसम्म आइपुग्दा आठ पटक पुगिसकेको छ । तथ्याङ्क हेर्दा वैशाख ४ गते एकैदिन १ खर्ब रुपैयाँ प्रशोचन गरेको राष्ट्र बैंकले वैशाख ११ र १७ गते भने झन् ठूलो परिमाण अर्थात् १ खर्ब २० अर्बका दरले दुई पटक पैसा खिचेको छ । यसका साथै वैशाख ९, १६ र २५ गते ४०–४० अर्ब तथा वैशाख २३ गते २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिएको छ ।

बैंकहरूमा पैसाको चाङ कतिसम्म छ भन्ने कुरा अधिक तरलताको अंकले नै स्पष्ट पार्छ । हाल बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको छ । गत फागुन मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल ७७ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, जुन मुलुकको ६१ खर्ब ७ अर्बको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा १२७ प्रतिशतले बढी हो । यस वर्ष जीडीपीको आकार बढेर ६६ खर्ब पुग्ने अनुमान गरिए पनि निक्षेपको वृद्धि त्योभन्दा निकै अगाडि छ ।

बजारमा ऋणको माग कति कमजोर छ भन्ने कुरा बैंकहरूको ब्याजदर र सीडी रेसियोले छर्लङ्ग पार्छ । हाल बैंकहरूको औसत कर्जा ब्याजदर घटेर ६.९ प्रतिशतमा झरेको छ भने कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७३.१८ प्रतिशतमा खुम्चिएको छ । ब्याजदर एकल अंकमा झर्दा र राष्ट्र बैंकले घरजग्गा तथा सेयर धितो कर्जाको जोखिम भार घटाउने जस्ता नीतिगत सहुलियत दिँदा पनि कर्जा विस्तार हुन सकेको छैन ।

फागुन २१ को निर्वाचनपछि बनेको नयाँ सरकारले लगानीकर्ताको आत्मविश्वास जगाउन नसक्दा बैंकमा थुप्रिएको पैसा उत्पादनमूलक क्षेत्रमा जानुको साटो केन्द्रीय बैंकको उपकरणमार्फत पुन: राष्ट्र बैंकमै फिर्ता भइरहेको छ । लगानीका नयाँ क्षेत्र नखुलिनु र निजी क्षेत्र पर्ख र हेरको अवस्थामा रहँदा बैंकिङ प्रणालीमा तरलताको चाप अझै बढ्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्