रुस-युक्रेन युद्धकाे चार वर्षः अहिले आएर किन युद्ध अन्त्य गर्न चाहन्छन् पुटिन ?
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अब अन्त्यतर्फ जाँदै गरेको संकेत दिएका छन्।
मस्कोमा विजय दिवसको कार्यक्रम सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यद्यपि, उनले युक्रेनलाई सैन्य सहयोग गरेर पश्चिममा देशहरूले नै लडाइँलाई लम्ब्याइरहेको आरोप फेरि पनि दोहोर्याएका छन्।
पुटिनले आफू युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग मस्को वा कुनै तटस्थ देशमा प्रत्यक्ष भेटवार्ता गर्न तयार रहेको कुरा अघि सारेका छन्। उनले यसका शान्ति सम्झौताका सर्तहरू पहिले नै टुङ्गिसकेको हुनुपर्ने र भेटवार्ता वार्ताको सुरुवात मात्र नभइ सम्झौताको अन्तिम बिन्दु हुनुपर्ने सर्त राखेका छन्।
यसअघि अगस्ट २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको त्रिपक्षीय बैठकलाई पनि रुसले अस्वीकार गरेको थियो।
युरोपसँग नयाँ सुरक्षा प्रबन्धबारे छलफल गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले यसका लागि जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडर उपयुक्त वार्ता साझेदार हुन सक्ने धारणा राखेका छन्। श्रोडर पुटिनसँगको घनिष्ठ सम्बन्धका कारण जर्मनीमा आलोचित रहँदै आएका व्यक्ति हुन्।
रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गर्नुको मुख्य कारण नेटोको विस्तारलाई मानेको छ, जसलाई पुटिनले रुसको अस्तित्वसँग जोडिएको जीवन र मरणको सवाल भनेका छन्।
पछिल्लो समय अमेरिकाको पहलमा दुवै पक्षबीच तीन दिने छोटो युद्धविराम र कैदीबन्दी साटासाटबारे छलफल भइरहेको छ। तर युद्ध मैदानमा भने तनाव कम भएको छैन। पछिल्लो २४ घण्टामा मात्रै फ्रन्टलाइनमा १५० भन्दा बढी भिडन्त भएका छन् भने रुसी आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
चार वर्षभन्दा लामो यो युद्धले युक्रेनका धेरै भाग ध्वस्त पारेको छ भने रुसको ३ ट्रिलियन डलरको अर्थतन्त्रमा पनि ठूलो धक्का पुर्याएको छ।
यस्तै पुटिनले पश्चिममा देशहरू रुसको हार र पतनको प्रतीक्षामा महिनौँसम्म बसे पनि त्यो योजना सफल हुन नसकेको दाबी गरे। उनले पश्चिमा देशहरू अहिले यस्तो दलदलमा फसेका छन् जहाँबाट उनीहरू निस्कन नसक्ने टिप्पणी समेत गरे।
विश्लेषकहरू भने पुटिनको यो भनाइलाई सावधानीपूर्वक हेर्नुपर्ने बताउँछन्। उनीहरूका अनुसार विगत १८ महिनामा युद्ध अन्त्य हुने धेरै आश्वासन आए पनि ती पूरा भएका छैनन्।
अहिले आएर पुटिनले युद्ध अन्त्यको कुरा गर्नुको पछाडि रुसले सोचेजस्तो जित हासिल गर्न नसक्नु एउटा कारण हुन सक्ने अनुमान गरिएको छ।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यो युद्ध रोक्ने कुरालाई आफ्नो चुनावी एजेन्डाको मुख्य प्राथमिकतामा राखेका छन्। तर अझै पनि केही मुख्य कुरामा दुवै देश टसमस भएका छैनन्। रुसले पूरै डोनबास क्षेत्र कब्जा गर्न चाहन्छ र युक्रेनको नेटो सदस्यताको विरोध गरिरहेको छ भने युक्रेनले आफ्नो एक इन्च भूमि पनि नछोड्ने अडान राखेको छ।













