समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न सरकारले ल्यायो नयाँ योजना
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने महत्वपूर्ण घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै पीडितहरूको बचत सुरक्षित रूपमा फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने जानकारी दिए ।
यस योजना अन्तर्गत समस्याग्रस्त सहकारीहरूबाट कर्जा असुली गरी सो रकम कोषमा जम्मा गरिने र त्यसैबाट बचतकर्ताहरूलाई भुक्तानी दिइने व्यवस्था मिलाइएको छ । बचत फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सुदृढीकरण गर्ने लक्ष्य समेत लिएको छ ।
हाल सरकारले यस कार्यका लागि २५ करोड रुपैयाँको बिऊ पुँजीसहित ’रिभल्भिङ कोष’ स्थापना गरिसकेको छ, जसमा सहकारीको सम्पत्ति बिक्री र ऋण असुलीबाट प्राप्त रकम थपिँदै लगिनेछ । यो कदमले लामो समयदेखि आफ्नो बचत फिर्ताको पर्खाइमा रहेका सहकारी पीडितहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।













