१ हजार ६ सय ५ मेगावाट क्षमताका ४२ जलविद्युत आयोजनामा सिटिजन्स बैंकको २३ अर्ब रुपैयाँ लगानी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जलविद्युत क्षेत्रमा आफ्नो लगानीलाई आक्रामक रूपमा विस्तार गर्दै कुल ४२ वटा आयोजनाहरूमा वित्तीय साझेदारी पुर्याएको छ।
गण्डकी प्रदेशको लमजुङ जिल्लामा निर्माण हुने ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि बुधबार आयोजित सहवित्तीयकरण कर्जा सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश राज पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
सिइओ पोखरेलका अनुसार बैंकले हालसम्म कुल १,६०५.२२६ मेगावाट क्षमता बराबरका ४२ वटा आयोजनाहरूमा लगानी प्रतिबद्धता जनाइसकेको छ। जसमध्ये २७४.४ मेगावाट क्षमताका १६ वटा आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने बाँकी १,३३०.८ मेगावाट क्षमताका २६ वटा आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन्।
यी आयोजनाहरूमा बैंकले हालसम्म करिब २३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। बैंकले आफ्नो नेतृत्वमा १८ वटा आयोजना, ४ वटामा एकल लगानी, ३ वटामा सह-नेतृत्व र बाँकी आयोजनाहरूमा सहभागी बैंकको रूपमा लगानी व्यवस्थापन गरिरहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ पोखरेलले नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था र सम्भावनाबारे चर्चा गरे । उनले भने, ‘नेपालमा हालसम्म करिब ३,८०० मेगावाट विद्युत उत्पादन क्षमता पुगेको तथ्याङ्क देखिए पनि हिउँदमा (ड्राइ सिजन) जम्मा १,८०० मेगावाट मात्र उपलब्ध हुने हुनाले यस्ता आयोजनाहरूको महत्व धेरै छ। सरकारले २०२५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने र निर्यात गर्ने जुन संकल्प गरेको छ, त्यो अत्यन्तै उत्साहजनक छ।’
यो क्षेत्रमा लगानी गर्दा स्थानीय तहको आर्थिक अवस्था मजबुत हुने र ग्रामीण भेगमा उद्यमशीलता बढ्ने भएकाले सिटिजन्स बैंकले सधैं ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
बैंकले ऊर्जा क्षेत्रमा अझै ठूलो लगानी गर्न चाहेको उल्लेख गर्दै सिइओ पोखरेलले नियामक निकायसँग केही नीतिगत सहजीकरणको माग समेत गरेका छन् ।
‘हामी जलविद्युतमा लगानीको हिस्सा २० प्रतिशतभन्दा बढी पुर्याउन तयार छौँ, तर बैंकहरूको पुँजी टाइट हुँदै गइरहेको छ,” उनले भने, “हाइड्रो सेक्टरमा गरिएको लगानीको ‘रिस्क वेट’ १०० प्रतिशतबाट घटाएर ५०प्रतिशत वा सोभन्दा कम गरिदिए बैंकहरूको लगानी गर्ने क्षमता अझै बढेर जाने थियो।’
बैंकले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न आयोजनाहरूमा सक्रिय भूमिका खेलिरहेको छ। निजी क्षेत्र र बैंकिङ क्षेत्रको यो संयुक्त लगानीले देशको समग्र विकासमा कोसेढुङ्गा सावित हुने विश्वास बैंकले लिएको छ।
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा नेपाल बैंक लिमिटेड र सानिमा बैंकले पनि सहभागिता जनाउने भएका छन्। सिइओ पोखरेलले सहयात्री बैंकहरूलाई धन्यवाद दिँदै प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडलाई समयमै आयोजना सम्पन्न गर्न शुभकामना दिँदै आयोजना समयमै सम्पन्न गर्न पूर्ण सहयोग रहने बताए ।
‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ बाट सम्मानित सिटिजन्स बैंकले ऊर्जा क्षेत्र मात्र नभई डिजिटल बैंकिङमा पनि नवीनता ल्याएको छ। बैंकले नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘जेन-जी सेभिङ अकाउन्ट’, र ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ जस्ता सेवाहरू सञ्चालनमा ल्याएको छ। हाल ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम र ४२ शाखारहित बैंकिङ इकाइमार्फत बैंकले २० लाख २१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।













