फेडरल रिजर्भका नवनियुक्त अध्यक्ष केभिन वार्स को हुन् ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फेडरल रिजर्भका नवनियुक्त अध्यक्ष केभिन वार्स को हुन् ?



काठमाडाैं । विश्वकै सबैभन्दा शक्तिशाली केन्द्रीय बैंक, अमेरिकाको ‘फेडरल रिजर्भ’ (फेड) ले नयाँ नेतृत्व पाएको छ। अमेरिकी सिनेटले ५४-४५ को कडा मतपरिणामका साथ केभिन वार्सलाई फेडको १७ औँ अध्यक्षका रूपमा अनुमोदन गरेको छ।

निवर्तमान अध्यक्ष जेरोम पावेलको कार्यकाल सकिएसँगै ५६ वर्षीय वार्सले यो गरिमामय एवं चुनौतीपूर्ण कुर्सी सम्हालेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनित गरिएका वार्सको यो नियुक्तिलाई फेडको इतिहासकै सबैभन्दा बढी दलगत रूपमा विभाजित मतपरिणामका रूपमा हेरिएको छ।

बढ्दो महँगी, आन्तरिक नीतिगत मतभेद र राजनीतिक दबाबका बीच फेडको कमान्ड सम्हाल्न आइपुगेका वार्सको शैक्षिक पृष्ठभूमि निकै बलियो छ।

उनले अमेरिकाको प्रख्यात स्ट्यानफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्र र तथ्याङ्कशास्त्रलाई केन्द्रमा राखेर ‘पब्लिक पोलिसी’ मा स्नातक गरेका थिए। त्यसको लगत्तै उनले विश्वप्रसिद्ध हार्भर्ड ल स्कूलबाट कानूनमा विद्यावारिधि (जेडी) को उपाधि हासिल गरे, जहाँ उनको अध्ययनको मुख्य विषय नै कानून, अर्थशास्त्र र नियामक नीतिको अन्तरसम्बन्ध रहेको थियो।

कानुनको उच्च शिक्षा पूरा गरेपछि वार्सले आफ्नो करियरको व्यावसायिक सुरुवात न्यूयोर्कको प्रख्यात इन्भेष्टमेन्ट बैंक ‘मर्गन स्ट्यान्ली’ बाट गरे। सन् १९९५ देखि २००२ सम्म मर्गन स्ट्यान्लीमा रहँदा उनले मर्जर एन्ड एक्विजिसन (M&A) विभागको भाइस प्रेसिडेन्ट र एक्जिक्युटिभ डाइरेक्टरको रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाले। त्यहाँ काम गर्दा उनले अमेरिकी कर्पोरेट जगत् र वित्तीय बजारको भित्री कार्यप्रणालीलाई निकै नजिकबाट बुझ्ने मौका पाएका थिए।

वाल स्ट्रिटको आकर्षक करियरलाई छाडेर सन् २००२ मा उनी अमेरिकी राजनीतिको केन्द्र ह्वाइट हाउस भित्रिए। उनले तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसको आर्थिक सल्लाहकार समूहमा सामेल हुँदै राष्ट्रिय आर्थिक परिषद्को विशेष सहायक र कार्यकारी सचिवको रूपमा काम गरे। ह्वाइट हाउसमा रहँदा उनले पूँजी बजार, बैंकिङ र बीमा क्षेत्रका नीतिहरूमा राष्ट्रपति बुसलाई प्रत्यक्ष सल्लाह दिन्थे, जसका कारण उनी तत्कालीन सरकारको विश्वासपात्र बन्न सफल भए।

ह्वाइट हाउसमा उनको अब्बल कार्यक्षमता देखेर नै राष्ट्रपति बुसले सन् २००६ मा उनलाई पहिलो पटक फेडरल रिजर्भको ‘बोर्ड अफ गभर्नर्स’ को सदस्य नियुक्त गरे। त्यतिबेला मात्र ३५ वर्षका रहेका वार्स फेडको इतिहासमै बोर्ड सदस्य बन्ने सबैभन्दा कम उमेरका व्यक्ति बनेर नयाँ रेकर्ड कायम गरे। युवा उमेरमै फेडको नीतिनिर्माण तहमा पुगेका उनलाई धेरैले वित्तीय बजारको उदाउँदो ताराका रूपमा हेरेका थिए।

फेडको गभर्नर रहँदा उनले सन् २००८ को ऐतिहासिक विश्वव्यापी वित्तीय संकट (ग्रेट रिसेसन) लाई अग्रपंक्तिमा रहेर भोगे। तत्कालीन फेड अध्यक्ष बेन बर्नान्केको मुख्य सहयोगीका रूपमा उनले वाल स्ट्रिट र केन्द्रीय बैंकबीचको दूत भएर संकट व्यवस्थापनमा रातदिन काम गरे। लेहम्यान ब्रदर्स टाट पल्टिँदा र एआईजी जस्ता विशाल बीमा कम्पनीलाई बजार जोगाउन सरकारी ऋण दिने जस्ता जटिल निर्णयहरूमा उनी प्रत्यक्ष रूपमा संलग्न थिए।

तर, सन् २०११ मा फेडको अत्यधिक खुकुलो मौद्रिक नीति, विशेष गरी बजारबाट अर्बौँ डलरको ऋणपत्र किन्ने (क्वान्टिटेटिभ इजिङ) नीतिको विरोध गर्दै उनले गभर्नर पदबाट राजीनामा दिए। फेड छाडेपछि उनी प्राध्यापन र अनुसन्धानतर्फ फर्किए र स्ट्यानफोर्ड विश्वविद्यालयको ‘हुवर इन्स्टिच्युसन’ मा वरिष्ठ फेलोका रूपमा काम गर्न थाले, जहाँ उनले फेडका नीतिहरूको खरो आलोचना गर्दै दर्जनौँ लेखहरू लेखेका छन् ।

वार्सका अगाडि चुनौतीका चाङ

विगतमा वार्सलाई कडा मौद्रिक नीति र उच्च ब्याजदरको पक्षपोषण गर्ने ‘इन्फ्लेसन हक’ (महँगी विरोधी) का रूपमा चिनिन्थ्यो। तर, डोनाल्ड ट्रम्पको निकट भएपछि उनले तत्कालै ब्याजदर घटाउनुपर्ने वकालत गर्न थालेका छन्, जसले गर्दा विपक्षी डेमोक्र्याटहरूले उनको तीव्र आलोचना गरेका छन्।

सिनेट सुनुवाइमा डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले त उनलाई ट्रम्पको राजनीतिक इच्छा पूरा गर्ने “कठपुतली” को संज्ञा समेत दिएकी थिइन्।

आलोचनाका बीच वार्सले आफूले कुनै पनि राजनीतिक दबाबमा काम नगर्ने र फेडको स्वतन्त्रतालाई अक्षुण्ण राख्ने दाबी गरेका छन्।

नयाँ अध्यक्षका रूपमा कार्यभार सम्हालेका वार्सका अगाडि अहिले चुनौतीका पहाडहरू छन्। मध्यपूर्वको युद्धका कारण इन्धनको मूल्य आकासिएको छ भने फेडभित्रै ब्याजदर घटाउने विषयमा तीव्र मतभेद छ। फेडको १२ सदस्यीय नीति निर्धारण समितिका धेरैजसो सदस्यहरू महँगी नियन्त्रणका लागि ब्याजदर बढाउने विकल्प समेत खुला राख्नुपर्ने पक्षमा छन्, जुन वार्सको सोचको ठीक विपरीत हो।

सिनेटको सुनुवाइमा वार्सले फेडभित्र नीतिगत विषयमा हुने मतभेदलाई “पारिवारिक बहस वा झगडा” को संज्ञा दिँदै यसले रचनात्मक नतिजा निकाल्ने बताएका थिए।

तर, एकातिर राष्ट्रपति ट्रम्पको ब्याजदर घटाउने निरन्तरको दबाब र अर्कोतिर फेडका आफ्नै सहकर्मीहरूको कडा असहमति बीच सन्तुलन मिलाउनु नै अब वार्सको मुख्य परीक्षा हुनेछ। यो आन्तरिक खिचातानीले अमेरिकी डलर र विश्व शेयर बजारलाई कुन दिशामा लैजान्छ भन्ने कुरा आगामी केही महिनामै प्रष्ट हुनेछ।


प्रतिक्रिया दिनुहोस्