उपत्यका ९५ शैक्षिक कन्सलटेन्सीमा प्रहरीको छापा, ६९ जना सञ्चालक नियन्त्रणमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उपत्यका ९५ शैक्षिक कन्सलटेन्सीमा प्रहरीको छापा, ६९ जना सञ्चालक नियन्त्रणमा



काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उपत्यकाका विभिन्न स्थानमा सञ्चालित ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरूमाथि विशेष कारबाही गरेको छ ।

जेठ १ गते खटिएको प्रहरी टोलीले शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ का साथै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ का मापदण्डहरू पालना नगर्ने संस्थाहरूमा छापा मारेको हो । कारबाहीका क्रममा प्रहरीले ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, उच्च शिक्षाका लागि विदेश पठाइदिने बहानामा नेपाली नागरिकहरूलाई ठगी गरेको भन्ने प्राप्त उजुरी र गुनासोका आधारमा यो कदम चालिएको हो । ती केन्द्रहरूले दर्ता तथा नवीकरण नगरी र बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको पाइएको छ । नियन्त्रणमा लिइएका सञ्चालकहरूमाथि थप अनुसन्धान कार्य भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रमेश्वर कार्कीका अनुसार, यस्ता शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका नागरिकहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क राख्न सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ। प्रहरीले अनुमति बिना र कानुनी प्रक्रिया पुरा नगरी सञ्चालन हुने यस्ता गतिविधिहरूमाथि निगरानी र कारबाहीलाई तीव्रता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्