चेल्सीको मुख्य प्रशिक्षकमा साबिए अलोन्सो, इङ्ग्लिस क्लबको संकट टार्ने जिम्मेवारी
इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले स्पेनका पूर्व मिडफिल्डर साबिए अलोन्सोलाई आफ्नो नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ। चेल्सीका अनुसार अलोन्सोसँग चार वर्षको सम्झौता गरिएको छ र उनले आगामी जुलाई १ देखि आफ्नो कार्यभार सम्हाल्ने छन्।
लन्डनस्थित यो क्लबका लागि भर्खरै सकिएको सिजन निकै निराशाजनक रह्यो। क्लबले हालै मात्र प्रशिक्षक लियम रोजिनियरलाई बर्खास्त गरेको थियो। प्रिमियर लिगमा नवौँ स्थानमा खुम्चिएको र शनिबार म्यानचेस्टर सिटीसँग एफए कपको फाइनलमा पराजित भएपछि चेल्सी आगामी सिजन युरोपेली प्रतियोगितामा छनोट हुन कठिन मोडमा पुगेको छ।
आइतबार क्लबद्वारा जारी विज्ञप्तिमा अलोन्सोले भनेका छन्, “चेल्सी विश्व फुटबलकै एउटा विशाल क्लब हो। यस्तो महान् क्लबको प्रशिक्षक बन्न पाउनु मेरा लागि निकै ठूलो गर्वको विषय हो।”
रियल म्याड्रिड र बायर लेभरकुजेनका पूर्व प्रशिक्षक समेत रहेका अलोन्सो चेल्सीको ‘ब्लु-को’ (BlueCo) स्वामित्व अन्तर्गत नियुक्त हुने पाँचौँ स्थायी प्रशिक्षक हुन्। यसअघि ग्राहम पोटर, माउरिसियो पोचेटिनो, एन्जो मारेस्का र लियम रोजिनियरले क्लब सम्हालिसकेका छन्।
अलोन्सोका लागि यो इङ्ग्लिस फुटबलमा पुनरागमन हो। खेलाडीका रूपमा उनले लिभरपुलका लागि २१० खेल खेलेका थिए। सन् २००९ मा उनी लिभरपुल छाडेर रियल म्याड्रिड गएका थिए भने २०१७ मा बायर्न म्युनिखबाट व्यावसायिक खेल जीवन टुङ्ग्याएका थिए।
क्लबको नयाँ जिम्मेवारी पाएपछि उनले थपे, “क्लबको नेतृत्व र खेल व्यवस्थापन समितिसँगको कुराकानीबाट हामी दुवैको लक्ष्य एउटै रहेको प्रस्ट भएको छ। हामी शीर्ष स्तरमा लगातार प्रतिस्पर्धा गर्न सक्ने र ट्रफीका लागि लड्ने टोली निर्माण गर्न चाहन्छौँ।”
टोलीमा उत्कृष्ट प्रतिभाहरू र प्रचुर सम्भावना रहेको उल्लेख गर्दै अलोन्सोले अबको ध्यान कडा मिहिनेत, सही संस्कृति निर्माण र उपाधि जित्नेमा केन्द्रित हुने बताए।
चुनौतीपूर्ण समयमा अवसरको खोजी
खेलाडी जीवनबाट सन्न्याश लिएपछि अलोन्सोले रियल म्याड्रिडको युवा एकेडेमीबाट प्रशिक्षकको यात्रा सुरु गरेका थिए। पछि उनले रियल सोसिडाडको ‘बी’ टोली पनि सम्हाले।
तर, प्रशिक्षकका रूपमा उनको उचाइ बायर लेभरकुजेनमा चुलियो। सन् २०२२ मा लेभरकुजेनको कमान्ड सम्हालेका उनले २०२३-२०२४ को सिजनमा टोलीलाई अपराजित राख्दै ऐतिहासिक बुन्डेसलिगाको उपाधि दिलाए। साथै, उनको नेतृत्वमा टोलीले जर्मन कप जित्यो र युरोपा लिगको फाइनलसम्मको यात्रा तय गर्यो।
त्यही सफलताका कारण उनी मुख्य प्रशिक्षकका रूपमा रियल म्याड्रिड फर्किएका थिए। यद्यपि, त्यहाँ उनको कार्यकाल आन्तरिक तनावका कारण सुखद रहेन। फेडरिको भाल्भर्डे र भिनिसियस जुनियर जस्ता सिनियर खेलाडीहरूसँगको मतभेदका कारण उनलाई कार्यभार सम्हालेको आठ महिना नपुग्दै गत जनवरीमा बर्खास्त गरिएको थियो।
खेलाडीका रूपमा अलोन्सोले सन् २००९ देखि २०१४ सम्म रियल म्याड्रिडका लागि २३६ खेल खेल्दै ला लिगा, दुई पटक कोपा डेल रे र क्लबका लागि १० औँ युरोपेली कप (च्याम्पियन्स लिग) जितेका थिए। स्पेनको राष्ट्रिय टोलीबाट ११४ खेल खेलेका उनले एक पटक विश्वकप र दुई पटक युरो कपको उपाधि उचालेका छन्।
महँगो लगानी र समर्थकको असन्तुष्टि
चेल्सीले यस सिजनको सुरुवात फिफा क्लब विश्वकप विजेताको रूपमा गरेको थियो। तर, बारम्बार प्रशिक्षक परिवर्तन भइरहनु र समर्थकहरूको विरोधका कारण मैदानमा टोलीको प्रदर्शन खस्कँदै गयो।
सन् २०२२ मा ब्लु-को समूहले क्लबको स्वामित्व लिएयता खेलाडी खरिदमा मात्रै १.८ अर्ब पाउन्ड (करिब २.४ अर्ब डलर) खर्च गरिसकेको छ। यति ठूलो लगानीका बाबजुद क्लबमा सुधारका स्पष्ट संकेतहरू देखिएका छैनन्। शनिबार वेम्बली स्टेडियममा भएको फाइनल खेलअघि समर्थकहरूको समूह ‘नट अ प्रोजेक्ट’ले क्लब व्यवस्थापनविरुद्ध प्रदर्शन समेत गरेको थियो।
एक समय लिभरपुल फर्किन सक्ने अड्कलबाजी गरिएका अलोन्सोका लागि अब चेल्सीलाई पुनः प्रिमियर लिगको शीर्ष स्थानमा फर्काउन सक्ने गरी बलियो टोली बनाउनु मुख्य चुनौती हुनेछ।
चालु सिजनका बाँकी खेलहरूमा भने हालका कार्यवाहक प्रशिक्षक कालम म्याकफार्लेनले नै टोलीको कमान्ड सम्हाल्ने छन्। चेल्सीले आगामी मङ्गलबार प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा टोटनहम हट्सपरको सामना गर्दैछ।













