संसदमा आज आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

संसदमा आज आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल हुने



संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि आह्वान गरिएको छ। आजको बैठक मुख्यगरी आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा हुने ‘प्रि-बजेट’ छलफलमा केन्द्रित हुने संसद् सचिवालयले जनाएको छ।

बैठकमा आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि सांसदहरूले सदनमा आफ्नो धारणा राख्न सुरु गर्नेछन्। यस छलफलका माध्यमबाट सांसदहरूले सरकारलाई आगामी बजेटका प्राथमिकता र योजनाबारे महत्त्वपूर्ण सुझावहरू दिनेछन्।

संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको यो परिचर्चा सकिएपछि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट सार्वजनिक गर्नेछ। नेपालको संवैधानिक व्यवस्था अनुसार यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गरिने कार्यतालिका छ।

यसैगरी, आजको बैठकमा संसदीय कार्यविधिसँग सम्बन्धित अर्को एउटा महत्त्वपूर्ण प्रस्ताव पनि पेस हुने कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।


प्रतिक्रिया दिनुहोस्