इरान युद्धको चक्रव्यूहमा कर्पोरेट सेक्टर: विमान कम्पनीलाई १५ अर्ब र टोयोटालाई ४.३ अर्ब डलरको झट्का
काठमाडाैं । अमेरिकी र इजरायलको इरानसँग चलिरहेको युद्धका कारण विश्वभरका ठूला कम्पनीहरूले हालसम्म कम्तीमा २५ अर्ब अमेरिकी डलर बराबरको ठूलो आर्थिक क्षति ब्यहोर्नुपरिसकेको छ।
अमेरिका, युरोप र एसियाका सेयर बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणलाई लिएर रोयटर्सले गरेको एक अध्ययन अनुसार यो नोक्सानीको दर अझै तीव्र गतिमा बढिरहेको देखाएकाे हाे।
विशेष गरी इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध सिर्जना गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल १०० डलर नाघेको छ।
इन्धनको मूल्य आकाशिएपछि र प्रमुख व्यापारिक मार्गहरू बन्द भएपछि विश्वव्यापी आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ।
यस संकटबाट बच्न विश्वका कम्तीमा २७९ ठूला कम्पनीहरूले विभिन्न रक्षात्मक कदमहरू चाल्न सुरु गरिसकेका छन्। वित्तीय घाटा कम गर्न कम्पनीहरूले आफ्ना सामानको मूल्य बढाउने र उत्पादन कटौती गर्ने निर्णय गरेका छन् भने कतिपयले लगानीकर्ताहरूलाई दिने लाभांश रोकेर कर्मचारीहरूलाई बेतलबी बिदामा समेत पठाउन थालेका छन्।
कोरोना महामारी र रुस-युक्रेन युद्धको मारबाट तङ्ग्रिन खोज्दै गरेको विश्व बजारका लागि यो युद्ध अर्को ठूलो धक्का बनेको छ। प्रख्यात होम एप्लायन्सेज कम्पनी ‘ह्वर्लपुल’ का प्रमुख कार्यकारीले अहिलेको बजार गिरावट सन् २००८ को विश्वव्यापी वित्तीय मन्दीको समय भन्दा पनि भयानक रहेको बताएका छन्। बढ्दो महँगीका कारण उपभोक्ताहरूले नयाँ सामान किन्नुको साटो पुराना सामान नै मर्मत गरेर चलाउन थालेका छन्।
यो युद्धको सबैभन्दा ठूलो मार हवाई उड्डयन क्षेत्रलाई परेको छ, जहाँ हवाई इन्धनको मूल्य दोब्बर हुँदा विमान कम्पनीहरूले मात्रै १५ अर्ब डलरको क्षति ब्यहोरेका छन्। यसबाहेक जापानको प्रसिद्ध गाडी निर्माता कम्पनी टोयोटाले ४.३ अर्ब डलर र अमेरिकी बहुराष्ट्रिय कम्पनी पी एन्ड जीले झन्डै १ अर्ब डलर खुद नाफा गुम्ने प्रक्षेपण गरेका छन्।
तथ्याङ्क अनुसार यो संकटबाट सबैभन्दा बढी बेलायत र युरोपका कम्पनीहरू प्रभावित भएका छन्, जहाँ पहिलेदेखि नै ऊर्जा संकट गहिरिएको थियो। त्यस्तै मध्यपूर्वी देशहरूको तेलमा बढी निर्भर रहेका कारण कुल प्रभावित कम्पनीहरूमध्ये झन्डै एक-तिहाइ हिस्सा एसियाली कम्पनीहरूको रहेको छ।
युद्ध तत्कालै रोकिने कुनै संकेत नदेखिएकाले आगामी दिनहरूमा कम्पनीहरूको नाफा अझै घट्ने र बजारमा महँगी चुलिने निश्चित छ। यो दुई महिनाको युद्धले सिर्जना गरेको आर्थिक भार यसअघि अमेरिकी भन्सार शुल्क नीतिले पारेको खर्बौँको असर जत्तिकै गम्भीर बन्दै गएकाले विश्व अर्थव्यवस्था नै थप संकटमा पर्ने देखिन्छ।













