किङ्गडम स्टार स्कुलसहित ११ ऋणी कालोसूचीको संघारमा, इन्भेष्टमेन्ट मेगा बैंकले जारी गर्यो ७ दिने अल्टिमेटम
किङ्गडम स्टार स्कुलसहित ११ ऋणी कालोसूचीको संघारमा, इन्भेष्टमेन्ट मेगा बैंकले जारी गर्यो ७ दिने अल्टिमेटम
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले लामो समयसम्म कर्जा चुक्ता नगर्ने ऋणीहरूलाई बक्यौता चुक्ता गर्न ७ दिनको अन्तिम समयसीमा दिएको छ।
बैंकले एक सार्वजनिक सूचना जारी गर्दै ‘किङ्गडम स्टार इङ्लिस स्कुल प्रालि’ सहित अन्य १० वटा व्यावसायिक तथा व्यक्तिगत ऋणीहरूको तीन पुस्ते विवरण सार्वजनिक गरेको छ।
पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा र यसअघि जारी गरिएका सार्वजनिक सूचनाहरूलाई समेत ऋणीहरूले पूर्ण रूपमा बेवास्ता गरेपछि बैंकले यो कडा कदम चाल्नुपरेको स्पष्ट पारेको छ।
जारी सूचना अनुसार, तोकिएको ७ दिनको म्यादभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना र अन्य दस्तुर बुझाएर कर्जा राफसाफ नगरेमा ऋणी र जमानीकर्ता दुवैलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिनेछ।
यसका साथै, बैंकको सुरक्षाका लागि धितोबन्धक राखिएको चल तथा अचल सम्पत्तिलाई ‘जस्तो छ त्यस्तै अवस्थामा’ गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने बैंकले जनाएको छ।
यस लिलामी प्रक्रियामा सहभागी हुन चाहने इच्छुक खरिदकर्ताहरूले आगामी २०८३ साल जेठ ११ गतेभित्र बैंकमा बोलपत्र पेस गरिसक्नु पर्नेछ। प्राप्त भएका बोलपत्रहरू जेठ १२ गते दिउँसो ३:०० बजे खोलिने कार्यतालिका छ।
यदि धितो लिलामीबाट पनि बैंकको सम्पूर्ण बक्यौता रकम असुल हुन नसकेमा, प्रचलित कानुन बमोजिम ऋणी तथा जमानीकर्ताको अन्य जायजेथा र सम्पत्तिबाट समेत बाँकी रकम असुल उपर गर्न आवश्यक कानुनी कारबाही अघि बढाइने बैंकले चेतावनी दिएको छ।














