सात दिनपछि बैंकमा हाजिर भए पाण्डे
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे सात दिन पनि बैंकमा हाजिर भएका छन् । सोमबारबाट बैंकमा हाजिर भएर कामकाज सम्हालेको बैंकका अधिकारीहरुले जानकारी दिएका छन् ।
स्मार्ट टेलिकमको धितो लिलामी सम्बन्धि मुद्दामा सोधपुछ गर्न भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले उनलाई बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिएको थियो ।
प्रहरीले थुनामा राख्नै नपर्ने मान्छेलाई जबरजस्ति थुनामा राखेको अवस्थामा अदालतले यस्तो आदेश दिने गरेको छ ।
हाजिरी जमानीमा हिरासत मुक्त भएर आएपछि उनले सोमबारबाट बैंकमा फर्किएर आफ्नो कामकाज पुन: सुचारु गरेका हुन् ।
उनलाई पक्राउ गर्नुअघि केही राजनीतिक शक्ति र प्रहरीले पदबाटै राजिनामा दिन दबाब दिएको हल्ला चलेको थियो । त्यतिबेला बैंकमा सल्लाह गरेरै पाण्डेले ‘राजिनामा नदिइकन अनुसन्धानमा सघाउने’ निर्णय लिएका थिए ।
त्यसपछि केही सञ्चारमाध्यममार्फत् पाण्डेले राजिनामा गरेको भनेर ‘मिडिया ट्रायल’ नै भएको थियो । उक्त घटनाहरुपछि प्रहरीले सिन्धुली पुगेर पक्राउ गरेको हो । त्यति बेला पनि प्रहरीको प्रेस विज्ञप्तीमा अनौठोसँग ‘भाग्दै गरेको अवस्थामा पक्राउ’ भनेर लेखिएको थियो ।
उनी पक्राउ परेपछि पाण्डेको परिवारले सर्वोच्चमा दायर गरेको वन्दीप्रत्यक्षीकरण रिटलाई सर्वोच्चले सदर गरिदिएको हो ।
अब उनले बैंकको नियमित कामका साथै पूर्ववत् रुपमा सम्पूर्ण व्यवस्थापकीय नेतृत्व सम्हाल्ने छन् ।













