नेपालभर उत्साहका साथ सम्पन्न भयो ‘डिस्टङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६’
नेपालभर उत्साहका साथ सम्पन्न भयो ‘डिस्टङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६’
काठमाडौँ । नेपालमा यस वर्षको ‘डिस्टङ्गुइस्ड जेन्टलम्यान्स राइड (डीजीआर) २०२६’ उल्लेखनीय सहभागिता र सामाजिक प्रभावसहित देशभरी सफलतापूर्वक सम्पन्न भएको छ।
पुरुषहरूको मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतना फैलाउने र आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ आयोजित यस विश्वव्यापी च्यारिटी राइडमा नेपालका प्रमुख ६ वटा सहरका सडकहरू उत्साहले जीवन्त बनेका थिए।
नेपालमा फोर नेपालले ट्रायम्फ मोटरसाइकल्स नेपालसँगको सहकार्यमा हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमले यसपटक नयाँ व्यावसायिक उपलब्धि हासिल गरेको छ। यस वर्षको राइडमा काठमाडौँ, चितवन, पोखरा, बुटवल, हेटौँडा र इटहरीका ७०० भन्दा बढी रेष्ट्रो तथा मोडर्न-रेष्ट्रो मोटरसाइकल राइडरहरू क्लासिक लुक्समा सजिएर सहभागी भएका थिए।
सन् २०१२ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको ‘डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड’ (डीजीआर) हाल विश्वका १०० भन्दा बढी देशहरूमा एकैसाथ आयोजना हुने गर्दछ। यस अभियानको मुख्य उद्देश्य मोटरसाइकलिङमार्फत पुरुषहरूको स्वास्थ्यबारे समाजमा खुला संवादलाई प्रोत्साहित गर्नु र मानसिक सुस्वास्थ्यलाई प्राथमिकता दिन प्रेरित गर्नु हो।
पुरुषहरूले सामना गर्ने मानसिक स्वास्थ्य चुनौतीहरूप्रति समाजमा रहेको परम्परागत र गलत सोचलाई हटाउँदै जीवनरक्षाका लागि विश्वव्यापी रूपमा कोष संकलन गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। ट्रायम्फ नेपालसँगको सहकार्यमा यस वर्ष देशभरका सहरहरूमा एकैसाथ राइड आयोजना गरिएको थियो, जसले यस अभियानप्रति देशभर बढ्दो सहभागिता र समर्थनलाई स्पष्ट रूपमा झल्काउँछ।
यस वर्षको देशव्यापी राइडमा काठमाडौँबाट दुई सयभन्दा बढी र चितवनबाट एक सय ५० भन्दा बढी राइडरहरू सडकमा उत्रिएका थिए। त्यसैगरी पोखरा र इटहरीबाट क्रमशः एक-एक सयभन्दा बढी तथा बुटवल र हेटौँडाबाट क्रमशः ५०-५० भन्दा बढी राइडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस ऐतिहासिक यात्रामा नेपाली राइडरहरूले संयुक्त रूपमा विश्वव्यापी डीजीआर कोषका लागि १,००० अमेरिकी डलरभन्दा बढी सहयोग रकम समेत संकलन गरेका छन्।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका लागि अष्ट्रेलियाका राजदूतको उपस्थितिले आयोजनालाई थप गरिमामय बनाउँदै नेपालको यस अभियानप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमबारे बोल्दै फोर नेपालका अध्यक्ष सुनील मानन्धरले हरेक वर्ष यो अभियान विस्तार हुँदै गएको र यस वर्ष ट्रायम्फ नेपालको सहकार्यले कार्यक्रममा नयाँ ऊर्जा र व्यापकता थपेको बताए।
त्यस्तै, ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले लगातार दोस्रो वर्ष यो गरिमामय विश्वव्यापी साझेदारीलाई नेपालमा निरन्तरता दिन पाउनु गर्वको कुरा भएको उल्लेख गरे। कार्यक्रममा मानसिक स्वास्थ्य र भावनात्मक सुस्वास्थ्यका विषयमा अर्थपूर्ण संवादको वातावरण समेत सिर्जना गरिएको थियो।
सोही अवसरमा टि.पि.ओ. नेपालकी मनोचिकित्सक तथा मानसिक स्वास्थ्य विशेषज्ञ करुणा क्षेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै मानसिक स्वास्थ्य कुनै कमजोरी नभएर समग्र स्वास्थ्यको अभिन्न हिस्सा भएको स्पष्ट पारे।
उनले डीजीआर जस्ता कार्यक्रमहरूले भावना र संघर्षलाई मौन रूपमा सहन बाध्य हुने पुरुषहरूका लागि खुला र सकारात्मक संवादको वातावरण सिर्जना गर्ने धारणा राखे।
यस वर्षको अभूतपूर्व सफलतापछि डीजीआर नेपालले आगामी दिनहरूमा देशभरका थप सहर र समुदायहरूमा आफ्नो पहुँच विस्तार गर्ने, कोष संकलनलाई अझ प्रभावकारी बनाउने तथा स्वास्थ्यकर्मी र विश्वव्यापी साझेदारहरूसँगको सहकार्यलाई अझ गहिरो बनाउँदै लैजाने लक्ष्य लिएको छ।













