सुन–चाँदी धितो कर्जामा सरकारी बैंककै दबदबा, वाणिज्य बैंकलाई माथ दिँदै विकास बैंक - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुन–चाँदी धितो कर्जामा सरकारी बैंककै दबदबा, वाणिज्य बैंकलाई माथ दिँदै विकास बैंक



काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सुन र चाँदीको धितोमा प्रवाह गर्ने कर्जामा सरकारी स्वामित्वका बैंकहरूको बर्चस्व देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ चैत मसान्तसम्मको मासिक प्रतिवेदन अनुसार यस क्षेत्रमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएका छन्।

केन्द्रीय बैंकको तथ्यांक अनुसार कुल ५४ वटा वित्तीय संस्थाहरू (२० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनी) मध्ये २८ वटा संस्थाले मात्रै सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छन्।

बाँकी २६ वटा संस्थाले भने यो शीर्षकमा ऋण लगानी गरेका छैनन्। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस शीर्षकमा कुल १ खर्ब १४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।

सरकारी बैंकको विशाल हिस्सा

तथ्यांक अनुसार सुन–चाँदी कर्जामा सबैभन्दा ठूलो हिस्सा नेपाल बैंक लिमिटेडको छ। नेपाल बैंकले मात्रै ५० अर्ब ९० करोड ६२ लाख रुपैयाँ (५०,९०६.२० दश लाख) यस क्षेत्रमा लगानी गरेको छ। दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ३६ अर्ब ७९ करोड १० लाख रुपैयाँ (३६,७९१.०९ दश लाख) ऋण प्रवाह गरेको छ। यी दुई सरकारी बैंकले मात्रै कुल सुन–चाँदी कर्जाको झन्डै ७६ प्रतिशत हिस्सा ओगटेका छन्।

निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये प्राइम कमर्सियल बैंक ९ अर्ब ५५ करोड ६३ लाख रुपैयाँसहित तेस्रो स्थानमा छ भने नबिल बैंकले ३ अर्ब ३१ करोड ४१ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब १८ करोड ८६ लाख रुपैयाँ प्रवाह गरेका छन्।

वाणिज्य बैंकलाई टक्कर दिँदै विकास बैंक

यो तथ्यांकको सबैभन्दा रोचक पक्ष के छ भने, देशका कयौँ ठूला वाणिज्य बैंकहरूलाई पछि पार्दै विकास बैंकहरू सुन–चाँदी कर्जामा आक्रामक रूपमा प्रस्तुत भएका छन्। विशेषगरी गरिमा, कामना सेवा र मुक्तिनाथ विकास बैंकले कतिपय स्थापित वाणिज्य बैंकहरूको तुलनामा धेरै गुणा बढी कर्जा प्रवाह गरेका छन्।

गरिमा विकास बैंकले १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, कामना सेवा विकास बैंकले १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड २६ लाख रुपैयाँ सुन–चाँदी धितोमा कर्जा दिएका छन्।

यी विकास बैंकहरूको लगानी लक्ष्मी सनराइज बैंक, सिटिजन बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, कुमारी बैंक, प्रभु बैंक र कृषि विकास बैंक जस्ता वाणिज्य बैंकहरूको भन्दा निकै धेरै हो।

अन्य विकास बैंकहरूमध्ये ज्योति, एक्सेल, सप्तकोशी, महालक्ष्मी, लुम्बिनी, सांग्रिला, सिन्धु, ग्रीन र साल्पा विकास बैंकले पनि यस क्षेत्रमा उल्लेखनीय लगानी गरेका छन्। ज्योति विकास बैंक र एक्सेल विकास बैंकले पनि उल्लेख्य रुपमा यस्तो कर्जा प्रवाह गरेका छन्।

फाइनान्स कम्पनीको अवस्था

सुन–चाँदी धितोमा कर्जा प्रवाह गर्ने २८ वटा संस्थाहरूमध्ये दुईवटा फाइनान्स कम्पनीहरू मात्रै सामेल छन्। फाइनान्स कम्पनीहरूमध्ये गुडविल फाइनान्स अग्रस्थानमा छ, जसले ८२ करोड १ लाख रुपैयाँ लगानी गरेको छ। अर्को गोर्खा फाइनान्सले ५ करोड ६३ लाख रुपैयाँ यस शीर्षकमा ऋण प्रवाह गरेको तथ्यांकले देखाउँछ।

तरलता व्यवस्थापनका लागि सुरक्षित र भरपर्दो मानिने सुन–चाँदी कर्जामा ठूला वाणिज्य बैंकहरू उदास देखिनु र क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंकहरूले यसलाई अवसरको रूपमा लिनुले नेपाली बैंकिङ क्षेत्रको व्यावसायिक प्राथमिकता र रणनीतिमा विविधता आएको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्