व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने एमालेको निर्णय, बल्खुमै बन्ने भयो मुख्यालय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने एमालेको निर्णय, बल्खुमै बन्ने भयो मुख्यालय



काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा फिर्ता गर्ने भएको छ।

सोमबार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरुङ दम्पतीले उपलब्ध गराएको जग्गा र भवन निर्माणको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका हुन्।

२०८१ असोज २५ गते एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा सो भवन निर्माणको शिलान्यास समेत गरेका थिए। व्यवसायी गुरुङले १० रोपनी १४ आना जमिन दान दिँदै भवन बनाइदिने घोषणा गरेपछि पार्टीभित्र र बाहिर ठुलो विवाद चर्किएको थियो।

तर, गत भदौको जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा आगजनी गरिएपछि व्यवसायी गुरुङ आफैँ पनि यो प्रस्तावबाट पछि हटिसकेका थिए।

गुरुङको जग्गा फिर्ता गरेसँगै एमालेले अब मदननगर, बल्खुस्थित आफ्नै स्वामित्वमा रहेको जग्गामा मुख्यालय भवन बनाउने तयारी थालेको छ। एमालेले आफ्ना सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय निर्माण गर्नेछ।

२०७२ को भूकम्पले पुरानो मुख्यालय भत्किएपछि एमाले निरन्तर भाडाको घरमा बस्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्