देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का, विद्युतीय गाडीले पनि पाएनन् छुट
काठमाडाैं । सरकारले मुलुकभर सञ्चालन हुने सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा राेक लगाएकाे छ।
बढ्दो सवारी चाप र त्यसले निम्त्याएका विविध समस्यालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता प्रक्रिया तत्कालै रोक्ने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागका निर्देशक मणि राम भुसालद्वारा जेठ ७ गते जारी गरिएको यो परिपत्र सातवटै प्रदेशका भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरूका साथै देशैभरिका सबै स्थानीय तहहरूमा पठाइसकिएको छ। विभागको यो निर्णयसँगै अब देशभर कतै पनि नयाँ सार्वजनिक सवारीको दर्ता हुने छैन।
यस निर्णयमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा के छ भने विभागले केवल इन्धन (पेट्रोल/डिजेल) बाट चल्ने सवारी साधनलाई मात्र रोकेको होइन। पत्रमा स्पष्ट रूपमा वातावरणमैत्री मानिने ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न निर्देशन दिइएको छ।
मुलुकभर सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, सहरी क्षेत्रमा वायु प्रदूषणले सीमा नाघ्नु र सवारीको अत्यधिक चापका कारण दैनिक आवागमनमा गम्भीर कठिनाइ उत्पन्न हुनुलाई विभागले यो कठोर कदम चाल्नुको मुख्य कारण औंल्याएको छ।
साथै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात सञ्चालनमा देखिएको असहजतालाई पनि विभागले परिपत्रमा उल्लेख गरेको छ।
विभागले हचुवाको भरमा नभई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको विशेषाधिकार प्रयोग गर्दै यो अप्रत्याशित निर्णय लिएको जनाएको छ।













