हिमालयन रि-इन्स्योरेन्सका सीईओ र सञ्चालकसहित ५६ जनाको सेयर रोक्का गर्न सिआइबीको पत्राचार
धितोपत्र ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेर बिमा र वित्तीय क्षेत्रका ५६ जना हाइ-प्रोफाइल व्यक्तित्वहरूको सेयर कारोबार रोक्का राख्न र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ।
काठमाडौँ । नेपालको वित्तीय तथा बिमा क्षेत्रका अग्रणी र प्रभावशाली व्यक्तित्वहरू ठूलो कानुनी संकटमा परेका छन्।
धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको गम्भीर कसुरमा अनुसन्धान अघि बढाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभिन्न बिमा कम्पनी तथा मर्चेन्ट बैंकरका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतसहित ५६ जना हाई-प्रोफाइल व्यक्तिहरूको सेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई ताकेता गरेको छ।
सिआइबीले धितोपत्र बोर्डको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गर्दै यही जेठ ११ गते एउटा गोप्य पत्राचार गरेको बुझिएको छ।
उक्त पत्रमा धितोपत्र बोर्डकै जाहेरीका आधारमा नेपाल सरकार वादी र दीपक भट्ट समेत प्रतिवादी रहेको मुद्दाको गहिरो अनुसन्धानका लागि यी सबै व्यक्तिको धितोपत्र बजारमा रहेको लगानी रोक्का राख्न र उनीहरूको सम्पूर्ण वित्तीय विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। यस कदमले देशको सेयर बजार र वित्तीय वृत्तमा ठूलो तरङ्ग पैदा गरिदिएको छ।
यस अनुसन्धानको राडारमा नेपालको स्थापित पुनर्बिमा कम्पनी हिमालयन री-इन्स्योरेन्सका उच्च पदस्थ अधिकारीहरू परेका छन्।
सिआइबीले सो कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समितिका सदस्य मनिष कुमारको सेयर रोक्का गर्न भनेको छ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सदस्यहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, लगानी समिति अध्यक्ष प्रविना दाहाल र सुजल मल्ल पनि अनुसन्धानको दायरामा तानिएका छन्।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालकहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, सीईओ चिरायु भण्डारी तथा लगानी समिति सदस्यहरू ज्योती प्रकाश पाण्डे र समीर खरेलको लगानीमाथि पनि ब्युरोले बन्देज लगाउन पत्राचार गरेको छ।
कारबाहीको यो शृङ्खला यत्तिमै रोकिँदैन। हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समितिका पदाधिकारीहरू विवेक कुमार शाह, लक्ष्मण ज्ञावली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झाको नाम पनि सिआइबीको उक्त रोक्का सूचीमा अग्रपंक्तिमा छ।
वित्तीय बजारका अन्य क्षेत्रमा कार्यरत हिमालय सेक्युरिटी बैंकरका सञ्चालकहरू सित्ताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहालसहित राजन प्रसाद अधिकारी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीको सेयर नियन्त्रणमा लिन भनिएको छ।
यसका साथै क्रेष्ट माइक्रो इन्स्योरेन्सका विदुर पुरी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकी कीर्तीका अग्रवाल र दिनेश सरिया समेतको धितोपत्र रोक्का राखेर उनीहरूको कैफियत छानबिन गर्न प्रहरीले बोर्डलाई स्पष्ट निर्देशन दिएको छ।
सीआईबीले लेखेको पाँच पृष्ठको पत्रमध्ये हामीले सार्वजनिक प्लेटफर्ममा चार पृष्ठमात्रै फेला पारेका छौँ । सम्पत्ति रोक्का राख्ने सूचीको ३४ देखि ४८ नम्बरसम्मको विवरण प्राप्त भएको छैन । त्यो पत्र र सूची यस्तो छ :













