वाईफाई नेपालको पोखरामा दुईवटा उत्सव: बम्पर पुरस्कार वितरण र बगर शाखाको उद्घाटन
पोखरा । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो विशेष ग्राहकमुखी योजना “दशैनको बहार, खल्तीबाट पेमेन्ट गर्दा ईभी स्कुटर उपहार” अभियानअन्तर्गतको बम्पर पुरस्कार हस्तान्तरण समारोह पोखरामा सम्पन्न गरेको छ।
दुई महिनासम्म सञ्चालन गरिएको यस अभियानमार्फत ग्राहकहरूलाई ‘याडिया जी५’ इलेक्ट्रिक स्कुटर जित्ने अवसर प्रदान गरिएको थियो।
यसै अवसरमा कम्पनीले पोखराको बगर क्षेत्रमा आफ्नो नयाँ शाखाको समेत औपचारिक उद्घाटन गरी सेवा विस्तारको अर्को चरण सुरु गरेको छ। बम्पर पुरस्कार वितरण र शाखा उद्घाटनलाई एकै कार्यक्रममार्फत सम्पन्न गर्दै कम्पनीले ग्राहक सम्मान तथा सेवा विस्तारप्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको जनाएको छ।
अभियानको भाग्यशाली विजेता दमौली पाटन निवासी सुनिता राना (एलेक्स मगर) बनेकी छन्। वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले कार्यक्रममा उपस्थित भई विजेता रानालाई ‘याडिया जी५’ इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरे।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले विजेतालाई बधाई ज्ञापन गरे। वाईफाई नेपालले सर्वसाधारणका लागि किफायती मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै डिजिटल पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको न्यौपानेले उल्लेख गरे। यस्ता ग्राहक केन्द्रित अभियानले उपभोक्तालाई थप उत्साहित बनाउने विश्वास समेत न्यौपानेको थियो।
त्यसैगरी, व्यास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अनुप रानाले विजेतालाई बधाई दिँदै यस्ता योजनाले सेवाग्राहीहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने धारणा व्यक्त गरे। यस अभियानमा ‘खल्ती डिजिटल वालेट’ले विशेष भुक्तानी साझेदारको रूपमा सहकार्य गरेको थियो।
वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पंजियारले आगामी दिनमा पनि ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने विभिन्न आकर्षक योजना तथा अफर ल्याउने प्रतिवद्धता जनाए। कम्पनीले तयार गर्ने हरेक योजना नेपाली ग्राहकको दैनिक आवश्यकता, जीवनशैली र डिजिटल पहुँचलाई केन्द्रमा राखेर निर्माण गर्ने गरेको पंजियारको भनाइ छ।
“वाईफाई नेपाल केवल इन्टरनेट सेवा प्रदायक मात्र नभएर ग्राहकको दैनिक जीवनलाई सहज बनाउने साझेदार हो,” पंजियारले भने, “यस अभियानमार्फत एक ग्राहकलाई खुसी दिन पाएकोमा कम्पनी हर्षित छ। आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइनेछ। अभियान सफल बनाउन सहकार्य गर्ने खल्ती परिवारप्रति धन्यवाद छ।” ग्राहकको निरन्तर विश्वास र साथ नै वाईफाई नेपालको सफलताको प्रमुख आधार रहेको भन्दै पंजियारले भविष्यमा अझ नवीन र ग्राहकमैत्री सेवा ल्याउने बताए।
कार्यक्रममा बोल्दै ब्रान्ड एम्बेसडर पारस खड्काले ग्राहक सम्मान, समुदायप्रतिको उत्तरदायित्व तथा नयाँ क्षेत्रमा सेवा विस्तारमार्फत वाईफाई नेपालले सकारात्मक प्रभाव सिर्जना गरिरहेको भन्दै खुसी व्यक्त गरे। खड्काले बम्पर पुरस्कार विजेता र बगर शाखाको सफलताको कामना समेत गरे। वाईफाई नेपालले आगामी दिनमा पनि सेवा विस्तार र ग्राहक केन्द्रित योजनाका माध्यमबाट डिजिटल नेपाल निर्माणमा निरन्तर योगदान पुर्याउने लक्ष्य लिएको छ।













