सार्वजनिक सेवा प्रसारण संस्थाको नेतृत्वका लागि २८ जनाको आवेदन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको नेतृत्व चयन प्रक्रियालाई तीव्रता दिएको छ । मन्त्रालयले हालै संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको नामावली स्वीकृत गर्दै यस सम्बन्धी औपचारिक सूचना सार्वजनिक गरेको छ ।
यो छनोट प्रक्रिया ’सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ को दफा ४(१) को खण्ड (ख) मा उल्लेखित प्रावधानहरूका आधारमा अगाडि बढाइएको हो । यसअघि मन्त्रालयले २०८३ जेठ ९ गते यस गरिमामय पदका लागि इच्छुक योग्य उम्मेदवारहरूबाट आवेदन माग गर्दै विज्ञापन आह्वान गरेको थियो ।
मन्त्रालयद्वारा प्रकाशित अन्तिम नामावली अनुसार देशभरका विभिन्न जिल्लाबाट अनुभवी व्यक्तित्वहरूले यस पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् । स्वीकृत सूचीमा काभ्रेका अमरध्वज लामा र लक्ष्मण हुमागाई, सिराहाका अच्युतम कुमार पोखरेल, ललितपुरकी पुनम पौडेल र भक्तपुरका केदारनाथ कोइराला तथा गोविन्द भण्डारी सामेल छन् । काठमाडौँ जिल्लाबाट उल्लेख्य सहभागिता देखिएको छ । जसमा डा. मधुसुधन न्यौपाने, पुष्करराज गौतम, सुरेश शर्मा, बुद्धि बहादुर के.सी., नवराज सापकोटा र प्रद्युम्न पौडेल रहेका छन् ।
प्रतिस्पर्धामा कपिलवस्तुका आलोक कुमार तिवारी र भेषराज पाण्डे, पर्वतका भुवन प्रसाद आचार्य, तथा कैलालीका उत्तर सिंह विष्ट र हिक्मत बहादुर रावल पनि रहेका छन् । त्यसैगरी, उदयपुरका मनोहरि थापा, गुल्मीका चिन्तामणि बराल, रुकुम पश्चिमका रुद्र बहादुर खड्का, धनकुटाका तिलक जंग बुढाथोकी, तनहुँका विश्वराज खनाल र संखुवासभाका शरदचन्द्र अधिकारीको आवेदन पनि स्वीकृत भएको छ ।
अन्य उम्मेदवारहरूमा धनुषाका सुभाष कुमार साह वियोगी, कञ्चनपुरकी कुमारी निमा काफ्ले, रुपन्देहीका शिशिर पौडेल, गोरखाका विवेक रेग्मी र नुवाकोटका धन बहादुर मिजार रहेका छन् ।
सार्वजनिक सेवा प्रसारणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढाइएको यो नियुक्ति प्रक्रियाले योग्य र सक्षम नेतृत्व पाउने अपेक्षा गरिएको छ । मन्त्रालयले रितपूर्वक आवेदन दिएका यी २८ जनामध्येबाट उत्कृष्ट उम्मेदवार छनोट गर्ने कार्यलाई अबको चरणमा लैजानेछ । यो नियुक्ति नेपालको सार्वजनिक प्रसारण क्षेत्रको सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको छ ।













