कर्पोरेट संस्कृतिमा मातृत्वको सम्मान: ‘नबिल नर्सिङ रुम’
काठमाडाैं । आधुनिक कर्पोरेट जगतमा कुनै पनि संस्थाको सफलता केवल वित्तीय विवरणमा मात्र नापिँदैन। संस्थाले आफ्ना कर्मचारीहरूको हकहित र कार्य संस्कृति (वर्क कल्चर) लाई कति सम्मान गर्छ भन्ने कुराले उसको साख निर्धारण गर्छ।
यही जिम्मेवारीलाई आत्मसात् गर्दै नबिल बैंक लिमिटेडले कर्पोरेट संस्कृतिमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ।
तीनधारास्थित बैंकको केन्द्रीय कार्यालयमा हालै स्थापना गरिएको ‘नबिल नर्सिङ रुम’ (स्तनपान कक्ष) कामकाजी महिला, विशेष गरी भर्खरै मातृत्वको अनुभव सम्हाल्दै कार्यक्षेत्रमा फर्किएका आमा कर्मचारीहरूको सहजता र अधिकारको एउटा बलियो सम्बोधन हो। बैंकले आफ्ना कर्मचारी आमाहरू र बैंकमा आउने सेवाग्राही आमाहरूलाई सुरक्षित, मर्यादित र आरामदायी वातावरणमा स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले यस कक्षको सुरुवात गरेको हो।

सुत्केरी बिदा सकिएपछि पुनः कार्यक्षेत्रमा फर्किनु महिलाहरूका लागि निकै चुनौतीपूर्ण हुने गर्दछ । शिशुलाई घरमै छाडेर कार्यालय आउँदा आमाहरूको ध्यान बच्चाकै वरिपरि घुमिरहेको हुन्छ । विशेष गरी बैंकिङ क्षेत्र जस्तो व्यस्त कार्यस्थलमा फर्किंदा महिलाहरूले दोहोरो भूमिका निभाउनुपर्ने हुन्छ ।
एकातिर ग्राहकहरूको सेवा र अर्कोतिर नवजात शिशुको पोषणको चिन्ता । यस्तो अवस्थामा कार्यालय समयमा दूध सञ्चय गर्ने उपयुक्त र एकान्त ठाउँ नहुँदा कतिपय महिला कर्मचारीहरूले व्यावसायिक करियरमै सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था समेत सिर्जना हुने गरेको देखिन्छ ।
नबिल बैंकको यो नयाँ कदमले यही व्यावहारिक समस्यालाई सम्बोधन गर्दै कर्मचारीहरूलाई कार्यस्थलमा तनावमुक्त र सुरक्षित रूपमा स्तनपान गराउने वा दूध सञ्चय गर्ने वातावरण सुनिश्चित गरेको छ ।

वास्तविक भोगाइ: बैंकका कर्मचारी आमाहरूको अनुभव
विगत १० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत नबिल बैंककी कर्मचारी अञ्जु जिसीले सुत्केरी बिदापछि काममा फर्किंदा सुरुवाती दिनहरूमा निकै ठूलो शारीरिक र मानसिक चुनौती भोग्नुपरेको अनुभव सुनाएकी छन् ।
९ महिनाकी छोरीकी आमा सुत्केरी बिदापछिके सुरूवातिदिनहरूमा कार्यालय समयमा दूध ‘पम्प’ गर्ने उपयुक्त र एकान्त ठाउँ नहुँदा सुरुका दिनमा निकै सास्ती भएको स्मरण गर्दै उनले भनिन्, ‘कहिलेकाहीँ त लाज र असहजताले गर्दा जतिसुकै गर्मी भए पनि बाक्लो कपडा लगाउन बाध्य हुन्थेँ ।’
स्तनपान गराउने आमाहरूले समयमै दूध खाली नगर्दा स्वास्थ्यमा आउने जोखिम औंल्याउँदै जिसीले यो विषय सीधा महिलाको स्वास्थ्यसँग जोडिएको गम्भीर मुद्दा भएको प्रस्ट पारिन् ।
बैंकले केन्द्रीय कार्यालयमा स्थापना गरेको ‘नर्सिङ रुम’ ले आफू जस्ता नयाँ आमाहरूलाई ठूलो राहत दिएको उनको भनाइ छ।
यस्तै, नबिल बैंककी अर्की कर्मचारी बिनिसा श्रेष्ठको अनुभव पनि सुत्केरी बिदा सकिएर काममा फर्किने अन्य नयाँ आमाहरूको जस्तै चुनौतीबाट सुरु भएको थियो । विगत ९ वर्षदेखि बैंकमा निरन्तर कार्यरत श्रेष्ठका अनुसार बिदा सकिने समय नजिकिँदै गर्दा ‘अब काममा कसरी फर्किने होला’ भन्ने चिन्ता लागेको सुनाइन्।
कार्यालय फर्किएको सुरुका दिनमा छोटो खाजा समयमा घर जाने आउने गर्दा व्यावहारिक रूपमा निकै कठिन भएको अनुभव उनको छ
यसअघि उपयुक्त स्थानको अभावमा शौचालयमा बसेर दूध पम्प गर्नुपर्ने र त्यसरी पम्प गरिएको दूध बच्चाका लागि हाइजेनिक नहुने हुँदा फाल्नुपर्ने बाध्यता रहेको उनले स्मरण गरिन् । उनले अहिले नर्सिङ रुममा प्राइभेसी, हाइजीन, कम्फर्टेबल र मर्यादित वातावरण दुध पम्प गर्न सहज भएको अनुभव व्यक्त गरिन् ।
यस कदमले बैंकमा कार्यरत महिला कर्मचारीहरू मात्र होइन, बैंकमा विभिन्न बैंकिङ सेवा लिन आउने सर्वसाधारण ग्राहक आमाहरूलाई समेत ठूलो राहत मिल्नेछ।
सार्वजनिक स्थल वा बैंकहरूमा साना बच्चा बोकेर आउने आमाहरूले स्तनपान गराउने ठाउँ नपाएर सास्ती खेप्नुपर्ने यथार्थबीच अब नबिल बैंक पुग्ने जोकोही आमाले पनि मर्यादित रूपमा यो सुविधा उपभोग गर्न सक्नेछन्।
नर्सिङ रुमभित्र आमा र बच्चाका लागि आवश्यक पर्ने बेबी कट (सानो ओछ्यान), सफा पानी, वाइप्स, सेनिटाइजर, टिस्यु र खेलौनाहरू समेत व्यवस्थित रूपमा राखिएको छ।

पहिलो चरणको सुरुवातः भविष्यको योजना
नबिल बैंकका अनुसार यो केवल पहिलो चरण मात्र हो । हाललाई यो कक्ष केन्द्रीय कार्यालयमा मात्र स्थापना गरिएको भए तापनि आगामी दिनहरूमा देशैभरिै फैलिएका बैंकका अन्य मुख्य शाखाहरूमा पनि यस सेवालाई विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ ।
यसले बैंक आफ्ना विभिन्न शाखाहरूमा कार्यरत महिला कर्मचारीहरूलाई समान सुविधा दिन सकारात्मक रहेको देखाउँछ ।
बैंकले आगामी दिनमा आफ्ना कर्मचारीका सन्ततिहरूको हेरचाहका लागि ‘चाइल्ड केयर सेन्टर’ (डे-केयर) समेत निर्माण गर्ने योजना अघि सारेको छ । कार्यालय समयमै बच्चालाई ढुक्कसँग राख्न पाउने वातावरण बनेपछि दक्ष महिला कर्मचारीहरूले करियरलाई निरन्तरता दिन अझै सहज हुनेछ ।















