मर्स्याङ्दीको बहावसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिने तरखरमा हिमाली जिल्ला मनाङ
चिनियाँ लगानी र नेपाली साझेदारीमा मर्स्याङ्दी नदीको खोंचमा १३५ मेगावाटको आयोजना निर्माण भएसँगै दुर्गम मनाङ लघु जलविद्युत्को भर पर्नुपर्ने बाध्यताबाट मुक्त हुँदै देशको केन्द्रीय उज्यालो सञ्जालमा बाँधिने भएको छ।
काठमाडौँ । हिमाली जिल्ला मनाङ अहिलेसम्म साना लघु जलविद्युत् परियोजनाकै भरमा उज्यालो भइरहेको छ। तर अब भने यो जिल्ला राष्ट्रिय विद्युत् प्रसारण लाइनको ठूलो सञ्जालमा जोडिने निश्चित भएको छ।
मर्स्याङ्दी नदीको तीव्र बहावलाई ऊर्जामा बदल्न १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढेपछि स्थानीय स्तरमा मात्र होइन, देशकै ऊर्जा सुरक्षा र आर्थिक विकासमा नयाँ आशा जगाएको छ।
निजी क्षेत्रको नेतृत्वमा बनिरहेका देशका ठूला जलविद्युत् परियोजनामध्ये पर्ने यो आयोजना मनाङको नासोँ गाउँपालिकाको वडा नम्बर ८ र ९ मा केन्द्रित छ। नदीको प्राकृतिक बहावलाई सदुपयोग गर्ने ‘रन अफ रिभर’ प्रविधिमा आधारित यस आयोजनामा पानीलाई बाँध बाँधेर सुरुङमार्फत विद्युत्गृहसम्म पुर्याउने काम भइरहेको छ।
बुटवल पावर कम्पनीका निर्देशक प्रतीकमान प्रधानले जलाशययुक्त आयोजनाको तुलनामा यस्ता परियोजनामा लागत कम लाग्ने, वातावरणीय क्षति न्यून हुने र निर्माण पनि छिटो सकिने भएकाले यसलाई प्राथमिकता दिइएको बताए।
चिनियाँ लगानी र प्राविधिक पक्ष
४३०.२० मिटरको कुल ‘ग्रस हेड’ र ६ किलोमिटरभन्दा लामो हेडरेस सुरुङ रहने यस आयोजनामा नेपाली र चिनियाँ साझेदारहरूको संयुक्त लगानी छ। यसमा नेपाली प्रवद्र्धक बुटवल पावर कम्पनी (बीपीसी) को २० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ८० प्रतिशत हिस्सा तीनवटा चिनियाँ कम्पनीहरू एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र क्यूवाईसी इन्टरनेसनलको छ।
सरकार र निर्माण कम्पनीहरूबीच २०७९ सालको पुस महिनामा ४ वर्षभित्र काम सक्ने गरी विकास सम्झौता भएको थियो। कुल ३३ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी जुटाइएको छ, जसमा बीपीसी एक्लैले करिब १ अर्ब ३३ करोड रुपैयाँ स्वपूँजीका रूपमा हाल्नेछ।
आयोजना सम्पन्न भएपछि वार्षिक रूपमा ७५ करोड युनिटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
मर्स्याङ्दीको साख र हिमाली चुनौती
मर्स्याङ्दी नदी जलविद्युत्का लागि कति उर्वर छ भन्ने कुरा यसअघि नै तल्लो तटीय क्षेत्रमा बनिसकेका आयोजनाहरूले पुष्टि गरिसकेका छन्। तनहुँको ६९ मेगावाटको मर्स्याङ्दी, लमजुङको ७० मेगावाटको मध्य मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले यसअघि नै यो नदीको क्षमता देखाइसकेका छन्। अहिले त्यही विरासतलाई मनाङको उच्च भूगोलमा पछ्याउन खोजिएको हो।
अहिले आयोजनास्थलमा पहुँचमार्ग, सुरुङ, बाँध र विद्युत्गृह निर्माणका कामहरू एकैसाथ अघि बढिरहेका छन्। तर, हिमाली भेगको चुनौतीपूर्ण भूगोल र कठोर मौसमका कारण काम सोचेजस्तो सहज भने छैन।
निर्देशक प्रधानका अनुसार साँघुरा पहाडी बाटा, पहिरोको डर र हिउँदको कठ्याङ्ग्रिँदो चिसोका बीच ठूला टर्बाइन र जेनेरेटर जस्ता गह्रौँ उपकरण आयोजनास्थलसम्म पुर्याउन सडक नै मर्मत र विस्तार गर्नुपरेको थियो। सुरुङ खन्ने क्रममा पनि कमजोर चट्टान र पानी पलाउने जस्ता भौगोलिक जटिलता आइलागे पनि प्राविधिक टोलीले ती सबै अवरोध पन्छाउँदै कामलाई निरन्तरता दिएका छन्।



















