म्याग्दीमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
म्याग्दी । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६आँै आरोहण दिवस मनाइएको छ ।
चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रर्वद्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । पर्यटन विभागको अभिलेखअनुसार आरोहणका हिसाबले जोखिमयुक्त मानिने अन्नपूर्णमा ७६ वर्षको अवधिमा ५७२ जनाले आरोहण गरेका छन् ।















