वैदेशिक रोजगार व्यवसायी संघको आज चुनाव, १७ पदका लागि ५१ जनाको उम्मेदवारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) विशेष साधारणसभा तथा निर्वाचन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अघिल्लो कार्यसमिति विघटन गरेपछि संघले नयाँ कार्यसमिति छनोट गर्न मतदान प्रक्रिया अघि बढाएको हो ।
यस निर्वाचनमा व्यवसायीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । संघको मुख्य नेतृत्वका लागि पूर्वअध्यक्ष मेघनाथ भुर्तेल तथा पूर्व प्रथम उपाध्यक्षद्वय डिकबहादुर खत्री र हरिबहादुर पाण्डे चुनावी मैदानमा उत्रिएका छन् ।
संघको कुल १७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया सुरु भएको हो । जसमा ७ जना पदाधिकारी र १० जना सदस्य रहने व्यवस्था छ । यी पदहरूका लागि तीनवटै समूहबाट कुल ५१ जना व्यवसायीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसपटकको निर्वाचनमा विभिन्न व्यवसायी संगठन र समूहहरूले आ–आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन्, जसका कारण प्रतिस्पर्धा निकै रोचक बन्ने अनुमान गरिएको छ ।
यसअघि २०८१ चैत २९ गते सम्पन्न ३१औं साधारणसभाबाट भुवनसिंह गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । तर, निर्वाचित भएको छोटो समयमै नेतृत्वको कार्यशैलीलाई लिएर कार्यसमितिभित्र गम्भीर मतभेद र असन्तुष्टि चुलिन पुग्यो ।
संस्थालाई संस्थागत हितभन्दा बाहिर गएर स्वेच्छाचारी ढंगले चलाउन खोजिएको आरोप लगाउँदै महासचिव महेशकुमार बस्नेतको नेतृत्वमा दुई तिहाइ पदाधिकारी र सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए ।
बहुमत सदस्यहरूको राजीनामापछि विधानबमोजिम उक्त कार्यसमिति विघटन भई नयाँ प्रबन्ध समिति गठन गरिएको थियो । सोही समितिले निर्वाचनको मिति तय गरेको भए तापनि आन्तरिक विवाद र दाबी–प्रतिदाबीका कारण यो मामिला जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो ।
अन्तत: प्रशासनले यसअघिको विवादित समितिलाई पूर्ण रूपमा विघटन गर्दै तोकिएकै मितिमा निर्वाचन गराउन निर्देशन दिएपछि आज मतदान सम्भव भएको हो । यो निर्वाचनले वैदेशिक रोजगार क्षेत्रमा रहेका समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने सक्षम र उत्तरदायी नेतृत्व प्रदान गर्ने विश्वास व्यवसायीहरूले राखेका छन् ।















