रोमनिया पठाउने भन्दै केएसए म्यानपावरको ठगी, सञ्चालक पक्राउ
विराटनगर । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङको रतुवामाई–८ स्थित केएसए म्यानपावरका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्यानपावर सञ्चालक उद्धव पाठक र कर्मचारी अभि भण्डारी रहेका छन् ।
मोरङ प्रहरीका अनुसार झापा र मोरङका युवाहरूलाई लक्षित गरी भएको यस ठगी धन्दामा हालसम्म साढे ३ करोड रुपैयाँभन्दा बढीको दाबीसहित उजुरी परेको छ । पीडितहरू थपिने क्रम जारी रहेकाले ठगीको आकार अझै बढ्न सक्ने डीएसपी मकेन्द्रकुमार मिश्रले बताए। धेरैजसो कारोबार नगदमै भएकाले प्रमाण जुटाउन प्रहरीलाई चुनौती थपिएको छ ।
ऋण धन गरेर रकम बुझाएका निम्न र मध्यम वर्गीय युवाहरू यतिबेला बिचल्लीमा परेका छन् । सञ्चालक पाठकले उठाएको रकम कर्मचारी भण्डारीको खातामा राख्ने गरेको र रोमानियामा ’नेपाली होस्टल’ खोलेर कामदारबाट थप असुली गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। लामो समय लुकिछिपी बसेका पाठक र भण्डारीलाई इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले नियन्त्रणमा लिएको हो ।
यसैबीच, पाठककै माध्यमबाट रोमानिया पुगेका स्थानीय दिलिप खड्काले गाउँमा विवाद बढेपछि आफ्नो सम्पत्ति बेचेर पीडितहरूलाई ३३ लाख रुपैयाँ फिर्ता गर्नुपरेको दुखेसो पोखेका छन् । हिरासतमा रहेका पाठकले सम्पत्ति बेचेर रकम फिर्ता गर्ने दाबी गरे पनि पीडितहरूले विश्वास गरेका छैनन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।















