बीमा प्राधिकरणमा उजुरीको चाङ, अझै ३८६ मुद्दा फछ्र्यौटको गर्ने बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बीमा दाबी तथा सेवा प्रवाहसँग सम्बन्धित उजुरीहरूको संख्या बढ्दो क्रममा देखिएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिना अर्थात् वैशाख मसान्तसम्ममा कुल १४९ वटा नयाँ उजुरी दर्ता भएका छन् ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा १०४ वटा र विभिन्न प्रदेश कार्यालयहरूमा ४५ वटा मुद्दा परेका हुन । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने नयाँ दर्ता हुने उजुरीको संख्या २३५ रहेको थियो ।
प्राधिकरणमा उजुरीको चाङ लाग्नुमा पुराना बाँकी मुद्दाहरूको पनि ठूलो भूमिका रहेको देखिन्छ । गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३९४ वटा उजुरीहरू फछ्र्यौट हुन बाँकी थिए ।
नयाँ दर्ता भएका उजुरीहरू समेत थपिँदा यो वर्ष कुल ५४३ वटा मुद्दाहरू प्राधिकरणको कार्यसूचीमा रहेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल उजुरीको संख्या ५२५ रहेको थियो । यस तथ्यांकले बीमा क्षेत्रमा बीमितका गुनासोहरू अझै पनि उल्लेख्य मात्रामा रहेको पुष्टि गर्दछ ।
प्राधिकरणले उजुरीहरूलाई किनारा लगाउन विभिन्न माध्यमहरू प्रयोग गर्दै आएको छ। वैशाख मसान्तसम्मको समीक्षा अवधिमा कुल १५७ वटा उजुरीहरू फछ्र्यौट भएका छन् । जसमध्ये ११७ वटा मुद्दामा प्राधिकरणले औपचारिक फैसला सुनाएको छ भने ४० वटा मुद्दामा दुवै पक्षबीच सहमति गराएर समाधान निकालिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३१ वटा मुद्दा मात्र फछ्र्यौट भएका थिए, जसले यस वर्ष फछ्र्यौटको गतिमा केही सुधार भएको संकेत गर्दछ ।
यति हुँदाहुँदै पनि प्राधिकरणमा विचाराधीन मुद्दाहरूको संख्या अझै उच्च छ । हाल ३८६ वटा उजुरीहरू प्रक्रियामा रहेका र फैसला हुन बाँकी देखिएका छन । गत वर्षको यसै अवधिमा ३९४ वटा मुद्दा बाँकी रहेका थिए ।
बीमितहरूले आफ्नो दाबी भुक्तानीमा समस्या भोग्नुपरेपछि र कम्पनीहरूले दायित्व पूरा नगरेपछि प्राधिकरणमा उजुरी दिने गर्दछन् । बीमा क्षेत्रप्रतिको जनविश्वास कायम राख्न यी उजुरीहरूको शीघ्र र न्यायपूर्ण फछ्र्यौट हुनु आवश्यक देखिन्छ ।















