शेन्जेनमा सकियो हुवावेको अन्तर्राष्ट्रिय प्रविधि प्रतियोगिता, भविष्यको एआई प्रतिभा विकासमा जोड
विश्वभरका सवा दुई लाखभन्दा बढी विद्यार्थी र प्राध्यापकहरू सहभागी भएको प्रविधि क्षेत्रकै ठूलो प्रतिस्पर्धामा नेपालको छिमेकी चीनसहित ८ देशका टोलीहरूले मुख्य पुरस्कार जितेका छन्।
काठमाडौँ । चीनको शेन्जेन सहरमा हुवावे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरणको प्रतिस्पर्धा भव्य रूपमा सम्पन्न भएको छ।
यस वर्षको संस्करणलाई प्रतियोगिताको इतिहासकै सबैभन्दा ठूलो मानिएको छ, जसमा विश्वका १०० भन्दा बढी देश र क्षेत्रका २ लाख २० हजारभन्दा बढी विद्यार्थी तथा प्राध्यापकहरूले सहभागिता जनाए। राष्ट्रिय र क्षेत्रीय चरणका विभिन्न प्रतिष्पर्धा पार गर्दै अन्तिम चरणमा पुगेका ४९ देशका १७७ टोलीहरूबीच चीनमा कडा प्रतिस्पर्धा भएको थियो।
यस वर्ष हुवावेले आफ्नो यस प्रतिष्ठित प्रतियोगिताको १०औँ संस्करण आयोजना गरेको हो। अभ्यास, नवप्रवर्तन र प्रोग्रामिङ गरी तीनवटा मुख्य विधाहरूमा भएको प्रतिस्पर्धापछि चीन, नाइजेरिया, सिंगापुर, अल्जेरिया, ब्राजिल, इजिप्ट, केन्या र डोमिनिकन गणतन्त्रका १८ वटा उत्कृष्ट टोलीहरूले मुख्य पुरस्कार जित्न सफल भए।
त्यसैगरी अजरबैजान, बहराइन र घानासहित विभिन्न देशका टोलीहरूलाई ‘प्रविधिमा महिला’ र ‘हरित विकास’ जस्ता विशेष विधामा पुरस्कृत गरियो।
समापन समारोहमा विभिन्न ११ देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले उपस्थित भई आफ्ना देशका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरे। कार्यक्रममा बोल्दै हुवावेका रणनीति तथा व्यवसाय विकास विभागका अध्यक्ष रिची पेङले यो प्रतियोगिताले समाज र वातावरणको दिगो विकासलाई सहयोग पुर्याउँदै प्रविधिको सही सदुपयोग गर्ने कम्पनीको प्रतिबद्धतालाई देखाएको बताए।
उनले सहभागीहरूले देखाएको प्राविधिक दक्षताको प्रशंसा गर्दै आगामी संस्करणदेखि युवा विकासकर्ताहरूका लागि ‘एआई अपरेटर विकास ट्र्याक’ सुरु गरिने घोषणा पनि गरे।
समारोहमा युनेस्कोको सूचना प्रविधि शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानकी कार्यवाहक निर्देशक डा. शफिका इसाक्सले युनेस्को र हुवावेबीचको सहकार्यको चर्चा गरिन्। उनले कृत्रिम बुद्धिमत्ता (एआई) को भविष्य निर्माणका लागि सरकार, शैक्षिक क्षेत्र र उद्योगहरूबीचको सहकार्य अपरिहार्य रहेको बताइन्।
यस वर्षका सहभागीहरूले प्रविधिको प्रयोग गरेर सांस्कृतिक सीमाभन्दा बाहिरका वास्तविक समस्या सुल्झाउने उत्कृष्ट क्षमता र जिम्मेवारी प्रदर्शन गरेको भन्दै उनले खुसी व्यक्त गरिन्।
विश्वव्यापी रूपमा डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहँदा एआई, कम्प्युटिङ र साइबर सुरक्षा जस्ता क्षेत्रमा दक्ष जनशक्तिको ठूलो अभाव देखिन थालेको छ। यही चुनौतीलाई सम्बोधन गर्न हुवावेले प्रतियोगिताको दौरान ‘कृत्रिम बुद्धिमत्ता शिक्षा रूपान्तरण तीव्रता सम्मेलन’ समेत आयोजना गर्यो।
सो अवसरमा विश्वविद्यालयहरूमा एआई अध्ययनलाई सहज बनाउन ‘आईसीटी एकेडेमी एआई कोर्स समाधान’ र नीति निर्माताहरूका लागि उपयोगी हुने ‘सीप विकास अन्तर्दृष्टि प्रतिवेदन’ सार्वजनिक गरियो, जसले भविष्यका लागि सक्षम र दक्ष जनशक्ति तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।















