ज्ञानेन्द्र प्रसाद ढुङ्गाना यूएईको ‘माई ई-वालेट’ को सीईओ नियुक्त
काठमाडौं। काठमाडौं। नेपाली बैंकिङ क्षेत्रका अनुभवी व्यावसायिक व्यक्तित्व ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ सफलता हासिल गरेका छन्।
नबिल बैंकका पूर्व सीईओ ढुङ्गाना यूएईको प्रतिष्ठित ‘माई ई–वालेट इन्टरनेशनल एफजेडसीओ’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका हुन्। यूएईको फिनटेक र भर्चुअल सम्पत्ति क्षेत्रको नेतृत्वदायी भूमिकामा पुग्ने उनी पहिलो नेपाली सीईओ समेत बनेका छन्।
ढुङ्गाना सँग बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन, डिजिटल बैंकिङ विकास तथा रणनीतिक नेतृत्वमा दशकौँको अनुभव रहेको छ।
यूएईको फिनटेक क्षेत्रमा नेतृत्व तहमा नेपालीको उपस्थिति पहिलो पटक भएको यो नियुक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाली पेशागत क्षमताको महत्वपूर्ण उपलब्धि रूपमा हेरिएको छ। विशेषगरी तीव्र रूपमा विस्तार हुँदै गएको डिजिटल वित्तीय सेवा र भर्चुअल सम्पत्ति व्यवस्थापन क्षेत्रमा ढुङ्गानाको नेतृत्वलाई महत्वपूर्ण मानिएको छ।
माई ई–वालेट इन्टरनेशनल एफजेडसीओ यूएईको डिजिटल भुक्तानी तथा वित्तीय सेवा क्षेत्रमा सक्रिय कम्पनी हो, जसले आधुनिक प्रविधिमार्फत सुरक्षित र सहज वित्तीय सेवा प्रदान गर्दै आएको छ।














