निजी क्षेत्रमा बैंक कर्जा ५.७ प्रतिशतले वृद्धि, निर्माण क्षेत्रमा लगानी बढ्दा कृषि क्षेत्रमा गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भई ५८ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ थप ३१२ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ७.३ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले वृद्धि भएको छ। कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत रहेको छ।
दश महिनाको अवधिमा वाणिज्य बैंकहरूको कर्जा ५.८ प्रतिशत, विकास बैंकहरूको ५.० प्रतिशत तथा वित्त कम्पनीहरूको कर्जा २.९ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कुल कर्जामध्ये ६३.५ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा रहेको छ भने १४.९ प्रतिशत कर्जा कृषि तथा गैरकृषिजन्य वस्तुजस्ता चालु सम्पत्तिको सुरक्षणमा प्रवाह भएको छ।
क्षेत्रगत रूपमा हेर्दा निर्माण क्षेत्रतर्फ प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ। त्यसैगरी उपभोग्य क्षेत्रतर्फ १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ ३.३ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फ १ प्रतिशतले कर्जा वृद्धि भएको छ। तर कृषि क्षेत्रतर्फको कर्जा भने २.३ प्रतिशतले घटेको छ।
कर्जाका प्रकारमध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३६.१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै मार्जिन प्रकृतिको कर्जा १५.५ प्रतिशत, हायर पर्चेज कर्जा ९.१ प्रतिशत, रियल स्टेट कर्जा ५.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत तथा आवधिक कर्जा ४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
निजी क्षेत्रतर्फ कर्जा प्रवाह निरन्तर बढिरहे पनि अघिल्लो वर्षको तुलनामा कर्जा विस्तारको गति केही सुस्त देखिएको छ। निर्माण, उपभोग तथा आयातसँग सम्बन्धित क्षेत्रमा कर्जा विस्तार बढ्दा कृषि क्षेत्रमा भने लगानी संकुचित भएको तथ्यांकले देखाएको छ।














